
काठमाडौं, २९ चैत । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयशंकर नायकले सरकारले नेकपा एमाले र मोर्चाको सहमतिमा नयाँ संशोधन प्रस्ताव ल्याउन लागिएको दावी गरेका छन् ।
उनले दुई पक्षसंगको सहमतीमा आएको संशोधन पारित भएर छाड्ने स्पष्ट पारेका छन् । आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले प्रमुख प्रतिपक्षी दल एमालेका शीर्ष तहमा सहमति गरेर प्रस्ताव ल्याइएको बताए ।
मन्त्री नायकले पूरानो संशोधन प्रस्ताव फिर्ता भइसकेपछि नयाँ संशोधन प्रस्ताव संसद सचिवालयमा दर्ता हुने जानकारी दिए । त्यस्तै उनले प्रस्तावबारे मधेशी मोर्चासँग पनि ठोस सहमति भएको दाबी गर्दै मोर्चालेपनि प्रस्ताव पारित गराउनको लागि सहयोग गर्ने विश्वास व्यक्त गरे । उनले अहिले मुलुक निर्वाचनको दिशामा अघि बढिसकेकोले सबै दललाई निर्वाचनमा सहभागी गराउनको लागिपनि सरकारले अधिकतम प्रयास गरिरहेको जनाए ।
मन्त्री नायकले थपे, ‘अब मधेशी मोर्चालेपनि गुनासो गर्ने ठाउँ छैन, धेरै विषयहरु मिलेको छ ।’ नयाँ संशोधन विधेयकबारे कसैको पनि विमति नरहेको दाबी गर्दै उनले सबैको सहयोग हुने बताए । यद्धपी उनले डा«फ्ट विज्ञहरुले तयार पारेकोले विधेयकमा उल्लेख भएका विषयका शब्दहरुमा भने पछि छलफलका क्रममा सच्याउन सकिने विश्वास दिलाए ।
उनले नयाँ आएको विधेयकले कसैलाई पनि खेल्ने ठाउँ नदिएको दाबी गरे । नायकले दर्ता भएको संशोधन प्रस्तावलाई जतिसक्दो चाँडो पारित गराउने सरकारको चाहना रहेको जिकिर गरे ।











प्रतिक्रिया