४ कार्तिक २०८३, बुधबार

दशैँको बेला यो कस्तो दशा ? लमजुङमा एकै परिवारका चार जनाको क्रुर हत्या

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

arjun-regmi-hatya-lamjung

आश गुरुङ

लमजुङ, १५ असोज । उमेरले ६० बर्ष पुगेका अर्जुनप्रसाद रेग्मी भारतको नयाँ दिल्लीमा सेक्युरिटी काम गर्दै थिए । उनी दशैँ मनाउनका लागि सोमबारमात्रै घर फर्के । तर, २ दिन वित्न नपाउँदै मंगलबार राती उनको हत्या भयो । उनले १४ बर्षअघि भारतबाट धर्मछोरीको रुपमा पाल्ने भन्दै ल्याएकी अहिले ३५ बर्षकी रीना घिमिरेको पनि हत्या भयो । त्यतिमात्र भई बाबु खुल्न नसकेको अवस्थाका रीनाको १२ बर्षीय छोरा विकास घिमिरेको पनि उनीसंगै एउटै खाटमा हत्या गरिएको अवस्थामा देखियो । सोही घरकी एकमात्र अर्जुनको छोरी १४ बर्षीय ज्योति रेग्मीले समेत अनाहकमा ज्यान गुमाउनुपर्‍यो ।

लमजुङको भोटेओडार गाविस ४ पिप्लेका एकै घर अथवा परिवारका ४ जनाको मंगलबार राती हत्या विभत्स हत्या भएको हो । घटना बिहानमात्रै स्थानीयवासिन्दाले थाह पाएका थिए । अर्जुनको घरबाट सवैभन्दा नजिकको घर झण्डै २ सय मिटरजति तल छ । तर, त्यहाँका कसैले पनि चाल पाएनन् । अघिपछि केही नहुने तर, अर्जुन घर आउनेवित्तिकै दशैँको मुखमा घरका सवैजनाको हत्या गरिनुले घटनालाई आश्चर्यको रुपमा हेरिएको छ ।

घटनालाई सवैभन्दा पहिले अर्जुनकै सहोदर भतिज सन्तोष भनिने चोलाप्रसाद रेग्मीले थाहा पाएका हुन् । ‘गाउँमा पानी नआएकाले पानी बनाउन २÷४ जना साथी लिएर माथि उक्लियौँ, भर्खर आउनुभएको कान्छोबुवालाई भनि भेटौँ भन्ने लग्यो र घरमा गएँ’ सन्तोषले भने, ‘घर गएर बोलाउँदा कोही बोलेनन्, ढोका चुकुल नलगाईकन देखियो, खोलेर हेर्दा त, अचम्मैको देखियो ।’ त्यसपछि सन्तोषले शसस्त्र प्रहरीमा कार्यरत निरञ्जन अधिकारीलाई खब गरे । निरञ्जनले प्रहरीलाई खबर गरेपछि घटना बाहिर आएको हो ।

अर्जुनप्रसादको घाँटीमा खुर्पा प्रहार भएको देखिएको छ । रीना घिमिरेको टाउको फुटेको छ । शरीरका विभिन्न ठाउँमा चोट देखिएपनि अरु २ जनाको चोट धेरै ठूलो देखिँदैन । २ तले घरको माथिल्लो तल्लाको ढोकामा लात्ताले हिर्काएको ठाउँ छ । चुकुल नलगाएको अवस्थामा रहेको घरका पिढीँ र आँगनमा रगतका छिटाहरु छन् । एउटै कोठामा रहेका मृतकका शव अर्जुनप्रसाद र विकास एउटै घाटमा साथै रीना र ज्योतिको शव अर्को खाटमा थियो ।

arjun-regmi-hatya-lamjung2

फूलपातीको दिन भएकाले लमजुङका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिना र प्रहरी नायब उपरीक्षक अच्युतप्रसाद पुडासैनी पूजाका लागि लमजुङ कालिका मन्दिर लमजुङतर्फ गएका थिए । तर, घटना घटेको थाहा पाएपछि मन्दिरको कार्यक्रम परिवर्तन गरी घटनास्थल पुगे । घटनास्थल पुगेका प्रहरी नायब उपरीक्षक पुडासैनीले प्रारम्भिक अनुसन्धानले उनीहरुको हत्या भएको देखिएको बताए ।

अत्यन्तै क्रुर घटना भएकोले क्षेत्रीय प्रहरी कार्यालय पोखराबाट कुकुरहितको अनुसन्धान टोलीले घटनाको अनुसन्धान गरेको छ । घटनास्थलमा नेपाल प्रहरीको पश्चिमाञ्चल क्षेत्रीय प्रमुख प्रहरी नायब महानिरीक्षक अर्थात डीआईजी बमबहादुर भण्डारी, प्रहरीको गण्डकी अञ्चल प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक अर्थात एसएसपी बलराम शर्मा पौडेल घटनास्थल पुगेका थिए ।

घटनास्थलमा पुगेका डीआईजी बमबहादुर भण्डारीले पारिवारिक झगडाका कारण घटना घटेको देखिएको बताए । ‘घटनालाई हेर्दा यो होमसाईड केस भएको देखिन्छ’ भण्डारीले भने, ‘यसमा हामीले फिङ्गर प्रिन्टदेखि लिएर अनुसन्धानका सवै विधि प्रयोग गरेका छौँ । उनले यसलाई जघन्य अपराधिक घटनाको संज्ञा दिए ।

घटनामा प्रयोग भएको एउटा खुर्पा र अर्को सानो खोले काठको मुढा आकारको अचानोको रुपमा प्रयोग गर्न सकिने काठ बरामद गरेको छ । प्रहरीले घटनामा संलग्न भएको आशंकामा अर्जुनप्रसादका कान्छी श्रीमतीपट्टीको छोरा राममणी रेग्मीलाई नियन्त्रणमा लिएको छ । घटनास्थलमा परिचालन गरिएका कुकुरले राममणीको घर देखाउँदै लगेपछि उनलाई नियन्त्रणमा लिएको हो, यद्यपि स्थानीय बासिन्दाले समेत घटनाको दोषी राममणि हुनसक्ने अनुमान गरेका छन् । राममणिको सँधैजसो बाबुसँग झगडा हुने गरेको थियो । उनले यसअघि संचारकर्मी र प्रहरीसंगको प्रारम्भिक बयानमा बाबुले आफूलाई मार्न खोजेको र संगै बस्ने परिवारका अन्य सदस्यलाई पनि मार्न खोज्ने गरेको बताएका थिए । उनले आफ्नो बाबुले कृषि विकास बैंकबाट ६० हजार लिएको र आफूले ब्याजमात्रै ५० हजार तिरेको दाबी समेत गरे । गाउँमा ऋण भएकाले र फुर्मासी गरेकाले पनि ऋणको लेनदेनका कारण आफ्नो बुवाको हत्या भएको हुनसक्ने राममणिले बताएका थिए । प्रहरीले नियन्त्रणमा लिएपछि भने उनले केही बोलेनन् ।

नेपाली सेनाको हनुमान ध्वज गुल्म महेन्द्रनगरमा कार्यरत राममणि गएको भदौ २५ गते घर आएका हुन् । उनी झण्डै २ बर्षदेखि आफ्नो घरमा नबसी छुट्टिएर अकला मन्दिर नजिकै बस्दै आएका छन् । कान्छीपट्टीका अर्को छोरा श्याममणि अबुधावीमा छन् भने बहिनी ज्योतिको गएराती हत्या भइसकेको छ । अर्जुनप्रसादका कान्छी श्रीमती लिला रेग्मीको १४ बर्षअघि निधन भइसकेको छ । जेठीपट्टीका ५ जना छोरीमध्ये ४ जनाको विवाह भइसकेको छ भने १ जनाको विवाह भएको छैन । अर्जुनकी जेठी श्रीमती शान्ता रेग्मी अहिले भोटेओडारको अकला मन्दिर नजिकै एघारविसेमा बस्दै आएकी छन् । धर्मछोरी भनिएकी रीना घिमिरेलाई भारतबाट अर्जुनप्रसादले साथ लिएर गाउँमा भित्र्याई धर्मछोरी बनाएका हुन् । राममणिका अनुसार उनले रीनाबाट तिहारको टीका समेत ग्रहण गर्दै आएका थिए ।