७ मंसिर २०८३, सोमबार

सिरहाका अग्नीपीडितको पीडा- औषधीसँगै रकम पनि जल्यो, छोराको उपचार कसरी गर्ने ?

2.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– सन्तोष यादब

सिरहा, २९ चैत । दुई महिने छोरा निमोनियाबाट ग्रसित भएपछि सखुवा ननकारकट्टी गाउँपालिका ४ सिमराहाकी रिता मण्डल सोमबार दिउँसो जनकपुरबाट उपचार गराएर फर्केकी थिइन् । सात हजार खर्चेर औषधी खरिद गरिन् । उनलाई पूर्ण विश्वास थियो– यो औषधीले छोरा निको हुन्छ । तर उनको विश्वास आगोले सखाप पारिदियो ।

सिमराहाका हरि मण्डलको घरबाट सोमबार दिउँसो करिब ४ बजे आगलागी सुरु भयो । एकै छिनमा सिमराहा टोल सखाप भयो । त्यहाँका २४ परिवारका करिब ५० बढी घर जलेर खरानी भयो । आगलागीमा रिताको घर पनि जले । घरमा भएको केहि समान बचेन । निमोनियाबाट ग्रसित छोराका लागि ल्याएको औषधी पनि जल्यो । घरमा भएको जति रकम पनि बचाउन सकेन ।

घरमा भएको रकमसँगै औषधी पनि जलेपछि अब कसरी छोराको उपचार गराउने चिन्ताले उनलाई सताएको छ । मलाई सबै सम्पत्ति जलेपनि चिन्ता लागेर तर छोराको उपचारको व्यवस्था मिलाइदिनुपर्छ भन्दै रिताले स्थानीय अगुवा नेताहरुलाई गुहारिरहेकी छन् । उनी भन्छिन्– घरमा केहि बचेन हजुर । अब कसरी उपचार गराउने ? हजुरहरुले पहल गरिदिनुस् ।

आगोसँगै करोडौंको सम्पत्ति नष्ट

आगलागीबाट करिब एक करोड बढीको क्षति भएको प्रहरीको अनुमान छ । आगोले अधिकांश व्यक्तिले वैदेशिक रोजगारबाट कमाएर ल्याएको रकम जलेको छ । स्थानीय सिता मण्डलको घरमा रहेको एक लाख रुपैयाँ जल्यो । यस्तै चौधरी मण्डलको पनि करिब ४ लाख रुपैया जल्यो । चौधरी भन्छन्– विदेशबाट कमाएर घर बनाउन रुपैयाँ ल्याएको थिए । आगोले सबै सपना चकनाचुर पार्यो ।

आगोले हाते कल समेत विग्रियो । विद्युत पनि अवरुद्ध बन्यो । आगोले विद्युतीय तार जलेको छ । यहाँ तत्कालै खानेपानी, विधुत, खानेकुरा, खाना पकाउन भाँडावर्तन, बस्नका लागि तत्कालै त्रिपाललगायतको व्यवस्था मिलाउनुपर्ने आवश्यकता देखिएको स्थानीय नेता प्रयागलाल यादब बताउँछन् ।

बारुण यन्त्र बाटोमै विग्रिदा बढी क्षति

समयमा आगो निभाउँने बारुण यन्त्र (दमकल) घटना स्थल नपुग्दा आगलागीले बढी क्षति भएको स्थानीय पीडितहरुले गुनासो गरेका छन् । आगलागी पीडित सबुर्नी खत्बे भन्छिन्- आगो लाग्यो करिब दिउँसो ४ बजे । हामीले फोन गर्दा गर्दा हैरान भयौं । तर लहान नगरपालिकाको बारुण यन्त्र आएन् । मिर्चैया नगरपालिकाको बारुण यन्त्र राती ८ बजे आगो नियन्त्रणमा आइसकेपछि मात्र आयो ।

आगो लाग्ने वित्तिकै स्थानीयले लहान नगरपालिकाको बारुण यन्त्र शाखामा खबर गर्यो । बारुण यन्त्र पनि फोन गर्ने वित्तिकै हिड्यो । तर घटनास्थल भने पुग्न सकेन् । बाटोमै दमकल बिग्रियो । त्यसपछि मात्र मिर्चैया नगरपालिकामा प्रशासनले खबर गर्यो । र त्यहाँबाट बारुण यन्त्र आउँदा आउँदै राती ८ बज्यो । जसका कारण सिमराहाबासीले करिब करोडौंको सम्पत्ति गुमाउनु परेको छ ।