
ब्रसेल्स (बेल्जियम), १५ असोज । प्रधानमन्त्री सुशील कोइराला र युरोपियन कमिसनका अध्यक्ष जोसे मानुइल बारासोबीच बुधबार भेटवार्ता भएको छ ।
कमिसनको मुख्यालय ब्रसेल्समा भएको भेटवार्तामा उहाँहरुबीच नेपालको शान्तिप्रक्रिया, संविधान लेखन, युनियन र नेपालबीचको सम्बन्ध तथा सहयोगका प्राथमिकताका क्षेत्रबारे छलफल भएको थियो ।
भेटका अवसरमा प्रधानमन्त्री कोइरालाले नेपालको आर्थिक तथा सामाजिक विकासका साथै लोकतन्त्रलाई संस्थागत गर्ने सन्दर्भमा शान्तिप्रक्रिया, संविधान लेखनमा युरोपियन युनियनले पु¥याउँदै आएको सहयोग र सद्भावका लागि धन्यवाद व्यक्त गर्नुभयो ।
राजनीतिक दलहरुबीचको सहकार्य र सहमतिका आधारमा निर्धारण गरिएको समयसीमाभित्रै संविधान जारी गर्न लचकताका साथ सहज वातावरण बनाउने प्रयत्न गरिरहेको बताउँदै उहाँले नेपालको समृद्धिका लागि इयुका तर्फबाट निरन्तर सहयोग प्राप्त हुने अपेक्षा व्यक्त गर्नुभयो ।
त्यस अवसरमा अध्यक्ष बारासोले नेपालको शान्तिप्रक्रिया र संविधान लेखन कार्यमा युनियनले भरपर्दाे मित्रका रुपमा सहयोग पु¥याउँदै आएको बारे चर्चा गर्नुभएको परराष्ट्र मन्त्रालयका कामु सचिव शंकरदास वैरागीले जानकारी दिनुभयो ।
प्रस्तावित लोकतान्त्रिक नयाँ संविधान जारी भएपछि लामो समयदेखि हुन जनप्रतिनिधिविहीन अवस्थामा रहेको स्थानीय निकायका निर्वाचन हुने इयु विश्वस्त रहेको बताउँदै अध्यक्ष बारासोले सहस्राब्दी विकास लक्ष्य हासिल गर्न नेपाल सफल भएको छ भनी सराहना गर्नुभयो ।
सन् २०२५ सम्ममा नेपाल अतिकम विकसित मुलुकको सूचीबाट रुपान्तरण भएर विकासशील राष्ट्रमा हुने विश्वास व्यक्त गर्दै उहाँले नेपालको ग्रामीण विकास, सुशासन प्रवद्र्धन र शिक्षाको क्षेत्रमा इयुको लगानी कायम रहने जानकारी दिनुभयो ।
जलवायु परिवर्तनबाट सिर्जना भएका समस्या न्यूनीकरण गर्न तथा अन्तर्राष्ट्रिय व्यापारमा पहुँच विस्तार गर्न इयुले आर्थिक तथा प्राविधिक सहयोग पु¥याउने वचनसमेत सो अवसरमा दिएको थियो ।
संयुक्त राष्ट्रसङ्घको ६९औँ महासभामा भाग लिई स्वदेश फर्कने क्रममा प्रधानमन्त्री कोइराला सङ्घीय अधिराज्य बेल्जियम र लक्जेमबर्ग भ्रमणमा हुनुहुन्छ ।
बुधबार दिउँसो यहाँस्थित नेपाली दूतावासले नेपाली समुदायसँग आयोजना गर्ने अन्तरक्रियामा समेत प्रधानमन्त्री कोइराला सहभागी हुनुहुनेछ । प्रधानमन्त्री कोइराला स्वदेश फर्कने क्रममा बुधबार राति अबेर अवुधावी प्रस्थान गर्नुहुने कार्यक्रम रहेको छ । रासस















प्रतिक्रिया