नारायणप्रसाद न्यौपाने
लक्जेमबर्ग, १४ असोज । प्रधानमन्त्री सुशील कोइरालाले युरोपेली मुलुक लक्जमबर्गका प्रधानमन्त्री जाभियर वेटेलसँग मंगलबार भेटवार्ता गर्नुभएको छ ।
लक्जमबर्ग सहरस्थित प्रधानमन्त्री कार्यालयमा भएको उक्त भेटवार्तामा उहाँहरूबीच दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध तथा आपसी हित र चासोका विषयमा विचारविमर्श भएको थियो । सो अवसरमा प्रधानमन्त्री कोइरालाले नेपालको संविधान निर्माण र शान्ति प्रक्रियामा युरोपेली सङ्घलगायत अन्तर्राष्ट्रिय समुदायले गरेको सहयोगप्रति आभार व्यक्त गर्नुभयो ।
“प्रधानमन्त्रीले लक्जमबर्गका प्रधानमन्त्रीलाई दिएको नेपाल भ्रमणको निम्तो उहाँले स्वीकार गर्नुभएको छ, नेपालको विकासका लागि सहयोग गर्नुपर्ने मुलुकको सूचीमा राख्न अनुरोध गरिएको छ” भेटवार्तापछि परराष्ट्र मन्त्रालयका कामु सचिव शङ्करदास वैरागीले जानकारी दिनुभयो ।
व्यापार, लगानी र पर्यटनबाट सम्बन्ध सुदृढ
सो अवसरमा लक्जमबर्गका प्रधानमन्त्री वेटेलले नेपाललाई युरोपेली सङ्घ र गैरसरकारी संस्थामार्फत सहयोग पुर्याइँदै आएको जानकारी दिँदै व्यापार, लगानी र पर्यटनका माध्यमबाट दुई देशबीचको सम्बन्ध बलियो तुल्याउन प्रयत्न गरिने बताउनुभएको थियो ।
उक्त भेटपछि प्रधानमन्त्री वेटेलले आयोजना गरेको दिवाभोजमा प्रधानमन्त्री कोइराला सहभागी हुनुभयो । त्यसपछि प्रधानमन्त्री कोइरालाले लक्जमबर्ग सहर र विभिन्न स्थलको दृश्यावलोकनसमेत गर्नुभयो ।
लक्जमबर्ग पश्चिम युरोपस्थित भूपरिवेष्ठित मुलुक हो । विश्व बैंकको तथ्याङ्कअनुसार लक्जमबर्गको जनसङ्ख्या पाँच लाख ४३ हजार २०२ छ । यहाँका जनताले फ्रान्सेली, लक्जेमबर्गिस र जर्मन भाषा बोल्ने गर्छन् । लक्जमबर्ग युरोपको महत्वपूर्ण वित्तीय केन्द्र हो ।
सम्पन्नताको आधार पहिले स्टिल उद्योग थियो । नजिकमा रहेको छिमेकी जर्मनीको प्रभाव यहाँ बढी रहेको बताइन्छ । लक्जेमबर्गिस जर्मन भाषाकै एक भाषिका हो । तटस्थता कायम गर्ने प्रयास गर्दा गर्दै पनि दुवै विश्वयुद्धताका बखत लक्जमबर्ग जर्मनीको अधीनस्थ रहन पुगेको थियो ।
जर्मन प्रभावबाट उम्किन खोज्दा सन् १९२१ मा यो देश आर्थिक हिसाबले बेल्जियमको अङ्ग बन्न पुगेको बताइँदै आएको छ । अहिले यसको पहिचान युरोपको अत्यन्त शक्तिशाली लगानी व्यवस्थापनको रूपमा विकसित हुँदै गएको छ ।
नेपाल र लक्जम्बर्गबीच दौत्य सम्बन्ध स्न १९७५ मा कायम भएको थियो । नेपालले लक्जमबर्गमा अवैततिक दूत सन् १९९५ मा नियुक्त गरेको हो । लक्जमबर्गले नेपाललाई रेडक्रस र स्काउटका क्षेत्रमा सहयोग पुर्याउँदै आएको छ । विभिन्न कामका सिलसिलामा करिब ३०० जना नेपाली लक्जमबर्गमा बस्दै आएका छन् । लक्जमबर्गमा नेपाली समुदायले सञ्चालनमा ल्याएको रेस्टुरेन्टको सङ्ख्या करिब ३० छ । रासस
















प्रतिक्रिया