सिरहा, २६ चैत । प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा लहान नगरपालिकाका पूर्व मेयर मुनी साहसहित करिब हजारौंको संख्यामा विभिन्न पार्टीका नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।
आज सिरहाको लहानस्थित नगरसभा हलमा भएको एक कार्यक्रममा उनीहरुले पार्टी प्रवेश गरेका हुन् । मधेस विरोधी छाप लागेपनि हजारौंको संख्यामा नेता तथा कार्यकर्ता पार्टीमा प्रवेश गरेपछि एमाले नेताहरुले एउटा रेकर्ड बनेको दावी गरेका छन् ।
एमालेमा हुँदा लहान नगरपालिकाको मेयरमा नेता साह निर्वाचित भएका थिए । उनी सिरहा क्षेत्र नम्बर १ का प्रभावशाली नेताको छवी बनाएका हुन् । नेता साहसँगै माओवादी केन्द्रका जिल्ला कमिटी सदस्यहरु राज कुमार साह, राजकुमार यादव, असेस्वर यादव, पूर्व राज्य समिति सदस्य धनिकलाल यादव, पूर्व वडाध्यक्ष सुलेमान अन्सारी लगायत करीब दुई हजार बढी कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।
त्यसैगरी जिल्लाको विभिन्न भागवाट माओवादी केन्द्र, नेपाली कांग्रेस, संघीय समाजवादी फोरम, चुरे भाँवर र राप्रपा परित्याग गरी २१ सय कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका छन् । सिरहाको क्षेत्र नं. १ का अधिकांश माओवादी केन्द्रका नेता र कार्यकर्ता आज एमाले प्रवेश गरेपछि यो क्षेत्रवाट माओवादी केन्द्र लगभग बढारिएको छ बताउँछन् एमाले जिल्ला कमिटी सिरहाका सचिव योगेन्द्र सिंह ।
उनले भने आजको पार्टी प्रवेशले सिरहामा एमालेले स्थानीय निर्वाचनमा क्लिनस्विप गर्ने निश्चित भएको छ । नव प्रवेशी मुनी साहले आफू पार्टी प्रवेश होइन्, पुरानो घर फर्केको बताए । पार्टीले दिएको जिममेवारी कर्मठ भएर पुरा गर्ने प्रतिवद्धता समेत उनले जनाए । उनले मधेसवादी दलहरुलाई निषेधको राजनीति त्यागेर प्रतिस्पर्धामा आउन चुनौति दिए ।
एमाले पार्टीमा प्रवेश गर्नेहरुलाई एमाले केन्द्रीय सदस्यहरु रामपृत पासवान, लीलानाथ श्रेष्ठ, गंगा यादव, धर्मनाथ यादव, रामरती राम, रामचन्द्र यादव र जिल्ला अध्यक्ष प्रमोद यादवले फूलमाला र अवीर लगाएर पार्टीमा स्वागत गरेका थिए ।
अवरोध गर्न खोज्दा मोर्चाका दर्जनौं नेता पक्राउ
एमालेको कार्यक्रम विथोल्न प्रयास गरेका आरोपमा मधेसी मोर्चाका दर्जन बढी नेता तथा कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरुमा मोर्चाका लहान संयोजक कृष्णबहादुर यादब, नविन यादब, नागेन्द्र यादब लगायतका छन् । उनीहरु मध्ये केहि मोर्चाका कार्यकर्ताले ढुंगामुडा गरेकाले सार्वजनिक मुद्दा चलाउने र केहिलाई रिहा गर्ने लहान प्रहरीले जनाएको छ ।
प्रहरीको घरमा कार्यक्रम
मधेसी मोर्चाले कार्यक्रम विथोल्दा हुने सम्भावित घटनालाई मध्यनजर गर्दै आज विहानैदेखि लहान बजारभर व्यापक सुरक्षाकर्मी परिचालित गरिएको थियो । कार्यक्रम लहान नगरपालिकाको नगरसभा हलमा गरियो । कार्यक्रम स्थल नजिकै सशस्त्र प्रहरी बेस क्याम्प भएको कारण सुरक्षाको दृष्टिकोणले त्यही कार्यक्रम गर्न एमाले नेताहरुलाई स्थानीय प्रशासनले सुझाव दिएका थिए । कार्यक्रम वरिपरि पनि व्यापक मात्रामा नेपाल तथा सशस्त्र प्रहरी परिचालन गरिएको थियो ।


















प्रतिक्रिया