६ मंसिर २०८३, आइतबार

लामो समयपछि चलेको सदनमा सरकारको रबैयाप्रति सांसदहरु आक्रोशित, कसले के भने ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ चैत । नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले बागबजारस्थित पुरानो बसपार्कमा बन्न लागेको २९ तलाका भ्यूटावरको विभिन्न क्षेत्रबाट विरोध हुँदाहुँदै पनि बनाउन लागेकोमा आपत्ति जनाएका छन् ।

संसदको शुक्रबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद प्रधानले स्थानीयको विरोध हुँदाहुँदै पनि महानगरपालिकाले गलत प्रयोजन राखेर व्यापारिक ठाउँ बनाउन लागेको आरोप लगाए । ‘काठमाडौं महानगरपालिका व्यापार गर्ने कार्यालय होइन’, उनले भने, ‘भ्यूटावरको नेपाली सेना, नेपाल वायु सेवा निगम, स्थानीय सबैले विरोध गरेका छन् । यसतर्फ सम्बन्धित निकायको ध्यान जानुपर्छ ।’

स्थानीय विकास मन्त्री र काठमाडौं महानगरपालिका तथा जग्गा दलालहरूले सरकारी जग्गामा विभिन्न संरचना बनाएर जनतालाई दुःख दिने कार्य भएको उनले बताए । प्रधानले स्थानीय जनताले पुरानो बसपार्कका लागि जुन प्रयोजनका लागि जग्गा दिएको हो त्यही प्रयोजनमा जग्गा प्रयोग गर्न माग गरे ।

एमालेका सांसद भीमप्रसाद आचार्यले सरकारभित्रको आन्तरिक विवादले तीन हप्तादेखि मन्त्रिपरिषदको बैठक बस्न नसकेको भन्दै आपत्ति जनाए । लोकतान्त्रिक भन्ने सरकारको यस्ता कार्यहरूबाट आफू लज्जित भएको उनले बताए ।

जंगली हात्तीले मारेकालाई शहीद घोषणाको माग

लोकतान्त्रिक पार्टी नेपालका सांसद सुवोधकुमार पोखरेलले कोसीटप्पुमा राखिएका जंगली हात्तीले सप्तरी र सुनसरीलगायतका जिल्लामा मानवीय क्षति पुगाएको भन्दै सरकार जंगली हात्तीको आतंक रोक्नेतिर ध्यान नदिएको बताए । उनले भने, ‘जंगली हात्तीको आक्रमणबाट मारिएकाहरू सबैभन्दा ठूला शहीद हुन् । उनीहरूलाई क्षतिपूर्ति दिनुपर्छ ।’

नेकपा (माले)का सांसद सीपी मैनालीले स्थानीय तहको निर्वाचन गर्नका लागि गम्भीर बन्नुपर्ने बताए । उनले निर्वाचनसम्बन्धी ऐनले चुनावमा प्रतिस्पर्धा गर्न समस्या भएको भन्दै चुनाव चिन्हलाई लिएर अप्ठ्यारो परेको बताए ।