काठमाडौं, २५ चैत । आगामी स्थानीय तहको निर्वाचनका लागि घोषणापत्र सम्बन्धमा छलफल गर्न आज नेपाली कांग्रेस संसदीय दल तथा पार्टीका केन्द्रीय कार्यसमितिको संयुक्त बैठक बस्ने भएको छ ।
संयुक्त बैठक बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बस्नेछ । केन्द्रीय नेता महेश आचार्यको संयोजकत्वमा गठन भएको घोषणा तयारी समितिले विभिन्न क्षेत्रका विज्ञ, पूर्वपदाधिकारी, जिल्लाका नेता, पेसागत संघ संंस्थाका प्रतिनिधि, बुद्धिजीवीहरूबाट आएका राय सुझावहरू समेत समेटेर निर्वाचनका लागि तयार गरिएको घोषणापत्रको मस्यौदा माथि बैठकमा छलफल हुनेछ ।
त्यस्तै, वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा गठित निर्वाचन परिचालन समितिले हालसम्म गरेको कार्य प्रगतिबारे पनि समीक्षा र छलफल हुनेछ ।
यसैबीच ललितपुरको सानेपास्थित बीपी स्मृति भवनमा बिहीबार स्थानीय तह निर्वाचनको लागि गठन भएको प्रचारप्रसार समन्वय उपसमितिको पहिलो बैठक बसेको छ ।
केन्द्रीय सदस्य रमेश लेखक संयोजक रहेको उक्त उपसमितिको बैठकले उपसमितिमा थप सदस्यहरू मनोनयन गर्ने निर्णय गरेको छ ।
समितिको बैठक शुक्रबार दिनको चार बजे बस्ने पार्टी सचिवालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।











प्रतिक्रिया