ब्रसेल्स (बेल्जियम), १३ असोज । प्रधानमन्त्री सुशील कोइराला र युरोपियन काउन्सिलका अध्यक्ष हरम्यान वान रोमपोयबीच भेटवार्ता भएको छ ।
काउन्सिलको मुख्यालय ब्रसेल्समा सोमबार भएको भेटवार्तामा उहाँहरूबीच नेपालको शान्ति प्रक्रिया, संविधान लेखन, युनियन र नेपालबीचको सम्बन्ध, सहयोग आदानप्रदान तथा आपसी हित र चासोका बारेमा छलफल भएको थियो ।
भेटमा प्रधानमन्त्री कोइरालाले युरोपियन युनियनले नेपालको शान्ति प्रक्रिया, संविधान लेखन र विकासमा पु¥याउँदै आएको सहयोगका लागि आभार व्यक्त गर्नुभयो ।
सबै सरोकारवाला पक्षको सहकार्य र सहमतिमा नेपालमा प्रस्तावित नयाँ संविधान लेखन कार्य भैरहेको जानकारी दिँदै उहाँले युनियनको तर्फबाट निरन्तर सहयोग प्राप्त हुने अपेक्षा व्यक्त गर्नुभयो ।
नेपाललाई ठूलो सहयोग उपलब्ध गराउने तथा व्यापारिक सम्बन्ध भएको मुलुकहरूको सङ्गठित संस्थाका रूपमा रहेको बताउँदै प्रधानमन्त्री कोइरालाले अध्यक्ष रोमपोयलाई नेपाल भ्रमणको निम्तासमेत दिनुभयो ।
त्यस अवसरमा अध्यक्ष रोमपोयले प्रधानमन्त्री कोइरालालाई युनियनको मुख्यालयमा पहिलोपटक स्वागत गर्न पाएकामा खुशी प्रकट गर्दै यो भेटघाटले इयु र नेपालबीचको सम्बन्ध अझ विस्तार हुने विश्वास व्यक्त गर्नुभयो ।
युरोपियन युनियनले नेपालको विकासका लागि सन् २०१४ देखि २०२० सम्मका लागि ४७ अर्ब रुपैंया बराबरको सहयोग उपलब्ध गराउने सहमति भइसकेको जानकारी गराउँदै उहाँले नेपालको शान्ति प्रक्रिया, सविधान लेखन तथा विकासका लागि इयुले निरन्तर सहयोग पु¥याउने विश्वास दिलाउनुभयो ।
नेपालमा हुन लागेको १८ औँ दक्षिण एसियाली सहयोग सङ्गठन (सार्क)को शिखर सम्मेलनको सफलताको कामना गर्दै उहाँले यसले त्यस क्षेत्रमा राजनीतिक स्थायित्व कायम गर्न, व्यापार र लगानी प्रवद्र्धन गर्न तथा आपसी सहयोग विस्तारमा समेत ठूलो योगदान पु¥याउन सक्ने धारणा राख्नुभयो ।
युरोपियन युनियनले नेपालको यातायात, विद्युत, कृषि र पर्यटन क्षेत्रको विकसका लागि सहयोग पुयाउँदै आएको छ ।
युरोपियन युनियनमा २८ सदस्य राष्ट्रमध्ये जर्मन, फ्रान्सको भूमिका सबैभन्दा प्रभावकारी देखिँदै आएको छ । पछिल्लो समय नेपालको ग्रामीण क्षेत्र विकास कार्यक्रमलाई समेत सहयोग पु¥याउन राजी देखिएको छ । काउन्सिल युनियनको एउटा उच्च अङ्क हो ।
संयुक्त राष्ट्र सङ्घको ६९ औँ महासभामा भाग लिई स्वदेश फर्कने क्रममा सङ्घीय अधिराज्य बेल्जियम र लक्जेम्बर्गको तीनदिने भ्रमणका लागि प्रधानमन्त्री कोइराला सोमबारै बेल्जियम पुग्नुभएको हो । रासस
















प्रतिक्रिया