न्युयोर्क, १३ असोज । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अमेरिकामा भव्य स्वागत गरिएको छ ।
सोमबार ह्वाइट हाउसमा दुई मुलुकका शीर्ष नेताबीच भेटवार्ता हुनेछ । कुनै बखत वासिङटनले पन्छाएका भारतीय दक्षिणपन्थी नेतालाई आइतबार न्यु योर्कको म्याडिसन क्वायर गार्डेनमा व्यापक समर्थन देखिएको छ । त्यहाँ आयोजित कार्यक्रममा अमेरिका तथा क्यानडामा बसोबास गर्ने भारतीय मूलका करिब १८ हजार ५ सय नागरिकको उपस्थिति रहेको बताइएको छ । कार्यक्रममा उपस्थित दर्शकले पटकपटक उहाँको नाम लिएका थिए भने उनीहरूले उहाँको चित्र छापिएको टी–सर्ट लगाएका थिए ।
सोमबार उहाँका लागि ह्वाइट हाउसमा भव्य स्वागत कार्यक्रम आयोजना हुने बताइएको छ । उहाँले कार्यक्रममा आफूले निर्वाचनको समयमा कर्मचारीतन्त्रलाई सही मार्गमा ल्याउँदै भारतको आर्थिक सम्भावना खुला गर्ने बताउनुभएको थियो ।
उहाँले भारतीय अमेरिकीले आफ्नो पेशागत उदाहरणीय सफलता प्राप्त गरेकोमा प्रशंसा गर्नुभयो । उहाँले कुनै समयमा मानिसहरूले भारत सर्प खेलाउने मानिसहरूको मुलुक भएको ठान्ने गरेको तर हाल भारतीय नागरिकले ‘माउस’ चलाएर विश्वलाई हल्लाउन थालेको बताउनुभयो ।
प्रधानमन्त्री मोदीले भारतीय उद्भव भएका विदेशीलाई जीवनभर भारतमा प्रवेशाज्ञा उपलब्ध गराउने र अमेरिकी पर्यटकलाई भारतमा आएपछि उपलब्ध हुने गरी लामो समयको प्रवेशाज्ञा उपलब्ध गराउने बताउनुभयो ।
भारतीय अमेरिकी नागरिकले आयोजना गरेको स्वागत कार्यक्रममा उहाँले आफूलाई जस्तो माया अन्य कुनै भारतीय नेताले नपाएको बताउनुभयो ।
उहाँले आफूले भारतीय अमेरिकी जनताको सपना अनुसारको मुलुक बनाई उनीहरूको ऋण चुकाउने बताउनुभयो ।
भारतमा अप्रिल–मे महिनामा भएको निर्वाचनमा व्यापक विजय प्राप्त भएपछि आलोचकहरूले उहाँलाई छिटो सुधार गर्न आग्रह गरेकोमा उहाँले आफू चिया बेच्दै यस पदसम्म आइपुगेको बताउँदै आफूले साना जनताका लागि ठूलो काम गर्ने बताउनुभयो ।
उहाँले थप शौचालय निर्माण गर्ने र धार्मिक गङ्गा नदी सफा गर्ने बताउनुभयो ।
उक्त समारोहमा अमेरिकी संसद कङ्ग्रेसका ३० सदस्यको उपस्थिति थियो र आरम्भमा भारतीय सिने उद्योगका परम्परागत नृत्य प्रस्तुत गरिएको थियो ।
भारतीय प्रधानमन्त्री मोदीको अमेरिकास्थित समर्थकहरूले उहाँको छवि सुधार गर्न वषौँसम्म प्रयास गरेका छन् । गुजरातमा उहाँ मुख्य मन्त्री हुँदा भएको मुसलमानविरुद्ध दङ्गाका कारण उहाँलाई सन् २००५ मा अमेरिकाले प्रवेशाज्ञा दिन अस्वीकार गरेको थियो । उहाँले आफूले कुनै गलत काम नगरेको दाबी गर्नुभएको छ ।
प्रधानमन्त्री मोदीले न्यु योर्कमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग भेट गर्नुभयो । यो दुई मुलुकका नेताहरूबीच गत ११ वर्षमा ठोस भेट हो ।
इजरायली प्रधानमन्त्री नेतान्याहुले भारतीय समकक्षी मोदीसँग भेटपछि खुसी व्यक्त गर्दै उहाँलाई इजरायल भ्रमणको निमन्त्रणा दिइएको बताउनुभयो । भारतीय प्रधानमन्त्री मोदी इजरायल पुग्नुभएमा त्यो भारतका लागि प्रधानमन्त्री स्तरीय प्रथम भ्रमण हुनेछ ।
सन् २००३ मा तत्कालीन हिन्दू राष्ट्रवादी सरकारले एरियल स्यारोनलाई भारतमा स्वागत गरेको थियो । रासस/एएफपी
















प्रतिक्रिया