१ कार्तिक २०८३, शनिबार

प्रचण्डका ज्ञानेन्द्र शत्रु, पृथ्बीनारायण चाँहि गुरु !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

puspakamal-dahal

काठमाडौँ, १३ असोज । विगतमा राजसंस्था र राजतन्त्रको खरो विरोध गर्ने माओवादीको युद्ध देशमा राजतन्त्र समाप्त गर्न सहयोगी बन्यो । विगतमा राजतन्त्रप्रति अति नै कठोर देखिने एमाओवादीका नेताहरु अहिले भने लचक देखिन थालेका छन् । १० बर्षसम्म राजतन्त्रको विरोधमा कार्यकर्तालाई पाठ पढाएको एमाओवादीका शीर्ष नेता नै अहिले पूर्वराजाहरुको प्रशंसामा व्यस्त छन् ।

सँधै शत्रुझैं हेरिएका पूर्वराजा ज्ञानेन्द्रलाई भेट्न एमाओवादीका नेता डा बाबुराम भट्टराई केही दिन अघि अस्पताल नै पुगे । भट्टराईकै पार्टीका अध्यक्ष प्रचण्ड पनि यतिबेला उनै ज्ञानेन्द्रका पुर्खजको प्रशंसामा व्यस्त छन् ।

केही दिन अघि सार्वजनिक कार्यक्रममै पृथ्बीनारायणको प्रशंसा गरेका प्रचण्डले सोमबार पनि पृथ्बीनारायणलाई गुरुकै संज्ञा दिए । राजधानीमा आयोजित कार्यक्रममा प्रचण्डले पृथ्वीनारायण शाहको राजनीतिक र फौजी रणनीतिलाई अध्ययन गरेर आफूहरुले दशवर्षे सशस्त्र जनयुद्ध सुरु गरिएको बताए ।

आरडी प्रभास चटौत र श्रीमती राजलक्ष्मीले लेखेको ‘बेलाको बोली बखतको इतिहास’ नामक पुस्तकको विमोचन कार्यक्रममा प्रचण्डले भने– “जनयुद्ध सञ्चालनका बेलामा मैले माओ, माक्र्स र लेनिनका पुस्तक मात्र पढेँ भन्ने कतिलाई लाग्न सक्छ तर मैले सबैभन्दा बढी नै पृथ्वीनारायण शाहको राजनीतिक र फौजी रणनीति पढेँ ।”

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले नेपालले कस्तो संविधान कसरी बनाउँछ भनेर विश्व समुदायले हेरिरहेकाले आरोह र अवरोहबीच संविधान बनाउनुपर्ने दायित्व पूरा गर्न दलहरु लागिपरेको बताए ।

कार्यक्रममा नेकपा एमालेकी उपाध्यक्ष विद्यादेवी भण्डारीले एकीकरण गरेर अहिलेको आधुनिक नेपाल बनाउन योगदान पु¥याएका शाहको सालिक भत्काएर कस्तो नेपाल बनाउन खोजिएको हो भन्नेमा जनता स्पष्ट नभएकाले दलहरुले आफ्ना क्रियाकलापमा पुनर्विचार गर्नुपर्ने अवस्था आएको बताइन् ।