काठमाडौं, २३ चैत । दैनिक घन्टौं लोडसेडिङको सामना गर्दै आएका उपभोक्ताले वैशाखदेखि भने त्यस्तो समस्या झेल्न नपर्ने भएको छ ।
बिहान र बेलुकाको पिक आवरमा समेत विद्युत् कटौती गर्न छाडेको नेपाल विद्युत् प्राधिकरणले आगामी वैशाखदेखि मुलुकभरबाट पूर्ण रूपमा लोडसेडिङ हटाउने घोषणा गरेको छ । राजधानी दैनिकले समाचार छापेको छ ।
प्राधिकरणको यस घोषणासँगै लोडसेडिङका कारण वर्षौंदेखि सास्ती बेहोर्दै आएका उपभोक्तालाई राहत मिल्ने भएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मुलुकभर अब पिक आवरमा समेत लोडसेडिङ नहुने घोषणा गरे । मंगलबार प्राधिकरणमा सञ्चारकर्र्मीहरूसँग कुरा गर्दै घिसिङले आगामी वैशाखदेखि उद्योग क्षेत्रमा समेत २४ घण्टा बिजुली दिने उद्घोषसहित मुलुकबाट सदाका लागि लोडसेडिङ अन्त्य भएको घोषणा गरे । हाल औद्योगिक क्षेत्रमा दैनिक ४ घण्टा विद्युत् कटौती हुँदै आएको छ ।
प्राधिकरणले बर्खायाममा मात्र नभई हिउँदमा समेत लोडसेडिङ हुन नदिने योजना तयार गरिसकेको बताउँदै कार्यकारी निर्देशक घिसिङले अब जनताले पुनः लोडसेडिङको सास्ती झेल्न नपर्ने बताए ।
उनले लामो समयदेखि लोडसेडिङबाट आक्रान्त भएको मुलुक अब बिजुली बिक्री गर्ने अवस्थामा पुग्न लागेको दाबीसमेत गरे । उनले तामाकोसीबाट विद्युत् उत्पादन सुरु भएपछि वर्षको ६ महिना नेपालले बिजुली बेच्न सक्ने तथ्यांकसमेत प्रस्तुत गरे ।
भारतबाट थप विद्युत् आयातका लागि रक्सौल–परवानीपुर र कटैया–कुशाहा प्रसारण लाइन तयार भइसकेको उल्लेख गर्दै घिसिङले यी दुई प्वाइन्टबाट सय मेगावाट हाराहारी बिजुली ल्याउन सकिने बताए । ढल्केबर सब–स्टेसनसमेत केही महिनामा निर्माण पूरा हुने र त्यसपछि २ सय २० केभीएमा चार्ज हुने उनको भनाइ छ ।
यसबाहेक स्वदेशी आयोजनाबाट समेत २ सय मेगावाट हाराहारी बिजुली थप हुने घिसिङले बताए । निजी क्षेत्रबाट निर्माणाधीन आयोजनाबाट सो परिमाणको बिजुली थपिन लागेको हो । त्यसमध्ये थप ३० मेगावाट बढी बिजुली चालू आर्थिक वर्षमा नै राष्ट्रिय प्रसारण लाइनमा जोडिने उनले बताए ।
विद्युत् आयात प्वाइन्टहरू फ्लेक्जिबल भएको उल्लेख गर्दै उनले अब लोडसेडिङ चिन्ताको विषय नरहेको प्रस्ट पारे । यसपालि समेत अहिलेसम्मको अवस्थामा प्राधिकरण सोचेभन्दा बढी सफल भएको घिसिङको दाबी छ ।
अहिले उद्योगमा साँझ ४ घण्टाबाहेक देशको कुनै पनि भागमा लोडसेडिङ नरहेको घिसिङले बताए । मौसमका कारण बेलाबेला बिजुली जाने गरे पनि आपूर्तिमा समस्या नरहेको उनले बताए । ‘चट्याङलगायत कारणले ठाउँठाउँमा बिजुली जाने गरेको छ,’ उनले भने, ‘तर त्यो बिजुली आपूर्तिका कारणले होइन ।’
प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङले देशभर ‘पिक आवर’ को लोडसेडिङ हटेको हुनाले अब प्राधिकरणको ध्यान निर्माणाधीन आयोजना सम्पन्न गर्न र काठमाडौंका ट्रान्सफर्मर अपग्रेडिङमा जाने जानकारी दिए । उनका अनुसार अहिलेका काठमाडौंका ट्रान्सफर्मर ४ सय मेगावाट क्षमताका छन् । यसलाई अपग्रेड गरेर हजार मेगावाट बनाउने योजना प्राधिकरणको छ ।
यसअघि काठमाडौं, पोखरा र चितवनलाई लोडसेडिङमुक्त घोषणा गरेको प्राधिकरणले देशका अन्य भागमा भने केही घण्टा विद्युत् कटौती गर्दै आएको थियो । अब पिकआवरमा देशभर नै लोडसेडिङ नहुने घिसिङले बताए ।
प्राधिकरणले बिहान ५ देखि ८ बजे र साँझ ५ देखि साढे ८ बजेसम्मलाई पिकआवर मानेको छ । लोडसेडिङ हटाउने अभियानमा मौसमका कारण पनि केही सहज भएको उनले बताए ।
‘पुष, माघ, फागुन र चैतको सुक्यायाम समेत सहज ढंगले पार भएको छ,’ उनले भने । प्राधिकरणले तिहारयता राजधानीमा लोडसेडिङ अन्त्य गरेको थियो । १० कक्षाको बोर्ड परीक्षाको अवसर पारेर देशभरबाट लोडसेडिङ हटाउने परीक्षण सफल भएपछि विद्युत् कटौतीको समस्या नदोहोरिने निष्कर्षमा प्राधिकरण पुगेको हो ।












प्रतिक्रिया