१ कार्तिक २०८३, शनिबार

प्रधानमन्त्री बेल्जियममा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

susil-koirala

ब्रसेल्स (बेल्जियम), १३  असोज । प्रधानमन्त्री सुशील कोइराला संयुक्त राष्ट्रसङ्घको ६९औँ महासभामा भाग लिई स्वदेश फर्कंने क्रममा सङ्घीय अधिराज्य बेल्जियम र लक्जम्बर्गको तीनदिने भ्रमणका लागि सोमबार बेल्जियम पुग्नुभएको छ ।

प्रधानमन्त्री कोइराला बेल्जियम पुग्दा ब्रसेल्स इन्टरनेसनल विमानस्थलमा युरोपेली सङ्घका लागि नेपाली राजदूत राममणि पोेखरेलले स्वागत गर्नुभयो ।

प्रधानमन्त्री कोइरालाले आफ्ना समकक्षी बेल्जियमका प्रधानमन्त्री इलियो दि रुपोसँग बुधबार भेटवार्ता गर्नुहुने कार्यक्रम छ ।

प्रधानमन्त्री कोइरालाले सोमबार नै बेल्जियमका वाटर लूलगायत केही महत्वपूर्ण स्थलको भ्रमण र दृश्यावलोकनसमेत गर्नुहुनेछ ।

फ्रान्सका तत्कालीन शासक नेपोलियन बोनापार्टले बेलायत, पर्सिया र अष्ट्रियाको गठबन्धनको १८१५ को युद्धमा वाटर लूमा पराजय भोग्नुपरेको थियो । वाटर लुस्थित वोयलिटिङ सङ्ग्रहालयमा तत्कालीन युद्धको स्मरण गराउने ठूल्ठूला चित्रहरु सङ्गृिहत छन् ।

युरोपको उत्तर–पश्चिममा अवस्थित बेल्जियम युरोपेली सङ्घको संस्थापक सदस्य राष्ट्र हो । संसदीय शासन प्रणाली अवलम्बन गरेको बेल्जियममा संवैधानिक राजतन्त्र रहेको छ । युरोपेली सङ्घको मुख्यालय पनि यही रहेको छ ।

विश्वमा प्रेस स्वतन्त्रताको सूचकाङ्कमा सहभागी १६९ मुलुकमध्ये बेल्जियम पाँचौँ स्थानमा रहेको छ । यहाँका जनताले डच, फ्रेञ्च र जर्मन भाषालाई आत्मसात् गर्दैआएका छन् । ब्रसेल्स बेल्जियमको राजधानी सहर हो । बेल्जियमको सीमाले फ्रास, जर्मनी, लक्जम्बर्ग र नेदरल्याण्डलाई छोएको छ ।

युरोपको बलियो अर्थव्यवस्था भएको मुलुकमा बेल्जियमको गणना हुने गर्दछ । खाद्य, मेसिनरी, कच्चा हीरा र पेट्रोलियम पदार्थका साथै रसायन र कपडा उत्पादनमा बेल्जियमले ख्याति कमाउँदै आएको छ ।

बेल्जियममा कुल जनसङ्ख्याको ९२ प्रतिशत राष्ट्रिय नागरिक र बाँकी युरोपेली सङ्घका सदस्य मुलुकका नागरिक बसोवास गर्दै आएको एक तथ्याङ्कले देखाएको छ । छ वर्षको उमेरदेखि १८ वर्ष उमेर समूहका नागरिकलाई शिक्षा अनिवार्य गरिएको छ ।

विज्ञान तथा प्रविधिको विकासमा समेत बेल्जियमले उल्लेखनीय प्रगति हासिल गरेको छ । चित्रकला र वास्तुकलाको विकासलाई समेत बेल्जियमले प्रवद्र्धन गरेको छ । खेलकुदको क्षेत्रमा समेत बेल्जियमले एकपटक युरोपेली फुटबलको च्याम्पियनसिपको उपाधि हात पारिसकेको छ ।

बेल्जियममा रहने क्रममा प्रधानमन्त्री कोइरालाले ब्रसेल्समा युरोपेली मुलुकमा कार्यरत नेपाली नियोग प्रमुखहरुको बैठकमा सहभागी भई आवश्यक निर्देशनसमेत दिनु हुनेछ ।

प्रधानमन्त्री कोइराला भोलि लक्जम्बर्ग जानुहुने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री कोइरालाले २२ सदस्सीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै महासभालाई यही असोज १० गते सम्बोधन गर्नुभएको थियो ।

यसअघि प्रधानमन्त्री कोइरालालाई बेल्जियम प्रस्थान गर्ने क्रममा न्युयोर्कस्थित नेवार्क विमानस्थलमा राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टराईले बिदाई अभिवादन गर्नुभएको थियो । रासस