
झापा, २२ चैत । नेपाल कम्युनिष्ट पार्टी एमालेले स्थानीय तहको निर्वाचनको लागि उमेदवारको सिफारिस र छनौटको प्रक्रिया, विधी र समय निर्धारण गरेको छ ।
मदनस्मृति प्रतिष्ठानको सभाहल विर्तामोडमा नेकपा एमाले झापाको आज बसेको जिल्ला सचिवालयको बैठकले उक्त निर्णय गरेको हो । पार्टीको बैठकले सबै गाउँ पालिका र नगरपालिकाहरुका विजोडी वडाहरु चैत २७ गते र जोडी वडाहरुमा चैत २८ गते बैठक बसी वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र दुई खुल्ला सदस्यको लागि उमेदवारहरुको नामावली सिफारिस गर्न निर्देशन गरेको छ । त्यस्तै गरी गाउँ पालिका र नगर पालिकाका अध्यक्ष उपाध्यक्ष र मेयर तथा उपमेयरका उमेदवारहरुको नामावली सिफारिस गर्नको लागि गाउँ नगर कमिटीलाई बैशाख ३ गते बैठक बस्न निर्देशन दिएको छ ।
सचिवालयको बैठकले बैशाख ५ गते जिल्ला सचिवालय र बैशाख ६ गते जिल्ला कमिटीको बैठकको लागि मिति तय गरेको छ । पार्टी केन्द्रले निर्धारण गरेको मापदण्डसँगै स्थानीय पार्टी कामसमेतलाई आधार मानी उमेदवारको नाम सिफरिस गर्न अन्तरपार्टी निर्देशन जारी गरेको छ ।
जिल्ला पार्टीले मातहतका कमिटीलाई धेरै नाम सिफरिस नगर्न पनि सुझाएको छ । यसरी स्थानीय वडा कमिटीबाट सिफरिस गरिएका नामावलीमध्ये वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य तथा खुल्ला दुई सदस्यको उमेदवार जिल्ला कमिटीले निर्णय गर्ने र मेयर, उपमेयर, अध्यक्ष तथा उपाध्यक्ष जिल्ला कमिटीको सिफारिसमा प्रदेश कमिटीले निर्णय गर्नेछ ।
पार्टी अध्यक्ष चिन्तन पाठकको अध्यक्षतामा भएको बैठकको प्रमुख अतिथि केन्द्रीय सदस्य तथा प्रदेश कमिटीका सदस्य हिक्मत कार्की, विशेष अतिथि झापा इन्चार्ज तथा प्रदेश कमिटीका सदस्य रविन कोइराला, प्रदेश कमिटीका सदस्य देवेन्द्र दाहाल, केन्द्रीय सदस्य हरी राजवंशी, प्रदेश कमिटीका सदस्य पवित्रा निरौला, सभाषदहरु नरेश खरेल, प्रेम गिरीको उपस्थिति रहेको थियो ।















प्रतिक्रिया