
काठमाडौं, २२ चैत । प्रचण्ड सरकारमा तालतालका मन्त्री छन् । खुमबहादुर खड्काको कोटामा मन्त्री भएका शंकर भण्डारी सरकारका बदनाममध्ये एक पात्र हुन् । पृष्ठभूमि मात्र होइन वन मन्त्रालयमा गरेका निर्णयका कारण पनि उनी निकै विवादास्पद छन् । मन्त्रालयका हरेक निर्णय लेनदेन र सेटिङको आधारमा हुने गरेको आरोप छ । त्यसो त मन्त्री भएपछि पनि उनले गुन्डा र तस्करहरुसँगको दोस्ती छाड्न सकेका छैनन् । भण्डारीले मन्त्रालयमा कुनै राम्रो काम गर्छन् भन्ने कसैलाई अपेक्षा पनि थिएन । कमाउनकै लागि उनी मन्त्री भएका हुन् । मन्त्री भएपछि पनि उनको पुरानो चरित्रमा सुधार भएको छैन ।
निर्वाचन आचारसंहिता उल्लंघन गर्दै आफ्नो पदीय मर्यादा भुलेर गत शुक्रबार उनी ललितपुरको झम्सिखेलस्थित स्पोर्टस हाइभ लाउन्ज बारको उद्घाटनमा गएका थिए । मन्त्री नै अतिथि बनेर गएपछि ललितपुरका सीडीओ र प्रहरीका हाकिम नजाने कुरा भएन । निकै तामझामका साथ बारको उद्घाटन भयो । उद्घाटनमा ठुलै भीड थियो । मन्त्री तथा प्रहरीहरु उद्घाटनपछि खानपिन गरेर निस्किए । मन्त्रीहरु भएकै बेला अत्याधिक मदिरा पिएका युवाहरु झगडा गर्न थालिसकेका थिए । राति १२ बजे त ‘ग्याङफाइट’ नै भयो ।
दृष्टि साप्ताहिकमा खबर छ – नाच्ने क्रममा युवतीहरुलाई दुव्र्यवहार गरेको विषयमा दुई समूहबीच फाइट भएको थियो । फाइटको क्रममा गहना लुटपाटसमेत भयो । दुई जनाको टाउकोमा गम्भीर चोट लाग्यो । कुटपिट गर्नेहरुले सिक्रीहरु जुत्तामा लुकाएको भेटियो । कुटपिटमा संलग्न डिस्को संचालक दीपेन्द्र अधिकारीसहित सरोज गैरे, गोविन्द शर्मा पौडेल, मेघराज शर्मा, किशोर कुँबर लगायत पक्राउ परे । पुल्चोक वृत्तका इन्सपेक्टर गोविन्द पन्थीले संचालकसहितलाई पक्राउ गरेर परिसरमा बुझाए ।
त्यसपछि चलखेल सुरु भयो । चोरहरुलाई समेत छुटाउन प्रहरीलाई दबाब दिने मन्त्री भण्डारीले आफूले नै उद्घाटन गरेको डिस्कोका संचालकलाई छुटाउन दबाब नदिने कुरै भएन । तर, बिरामीहरु अस्पतालमा थिए । सजिलै छाड्न पनि प्रहरीलाई गाह्रो थियो । डिस्कोका संचालक अधिकारी छुटे भने अन्य ४ जनलाई प्रहरीले सार्वजनिक अपराध मुद्दामा कारबाही अघि बढाएको छ । ११ बजेसम्म डिस्को चलाउन पाउनेमा अधिकारीले १ बजेसम्म चलाएका थिए ।
डिस्को संचालक अधिकारी मन्त्री भण्डारीका गृहजिल्ला तनहुँकै हुन् । प्रहरीका अनुसार उनी पनि गुन्डागर्दी पृष्ठभूमिकै व्यक्ति भएको खुलेको छ । बाउन्सरहरु समेत नराखी डिस्को चलाउन खोज्दा उद्घाटनकै दिन उक्त फाइट भएको थियो । अर्काेतर्फ मन्त्री भण्डारीले निर्वाचन आचारसंहिताको समेत उल्लंघन गरेका थिए । यस्ता उद्घाटनमा मन्त्रीहरुलाई आयोगले लगाम लगाइसकेको छ । तर, मन्त्री भण्डारीले आयोगको आचारसंहितामा कुनै चासो दिएनन् ।















प्रतिक्रिया