काठमाडौँ, १२ असोज । उपप्रधान एवम् गृहमन्त्री वामदेव गौतमले पर्याप्त प्रमाणको अभावमा आफ्ना छोराको हत्यारामाथि कारबाहीका लागि अनशनरत नन्दप्रसाद अधिकारीलाई बचाउन नसकिएको बताउनुभएको छ ।
व्यवस्थापिका–संसद्को सामाजिक न्याय तथा मानव अधिकार समितिको आइतबारको बैठकमा उहाँले एमाओवादीको दबाब रहँदारहँदै पनि पनि गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न आरोपितलाई कारबाही गर्न सरकार तयार भएपनि पर्याप्त प्रमाणको अभावमा अभियुक्तलाई कानुनको दायरामा ल्याउन नसकिएकाले अनशनरत बाबु अधिकारीको दुःखद निधन भएको उल्लेख गर्नुभयो ।
सो घटनामा संलग्न दुई अभियुक्तमध्ये एउटाको द्वन्द्वका समयमा निधन भएको, रुद्रप्रसाद आचार्य नाम गरेका अर्का अभियुक्त बेलायतमा लुकेर बसेकामा नेपालको अदालतले आरोप प्रमाणित नगरिसकेकाले कारबाही अघि बढाउन अड्चन भएको र अन्य आरोपितका हकमा पनि पर्याप्त प्रमाण नपुगेकाले तारेखमा छोडिएको उपप्रधानमन्त्री गौतमले जानकारी दिनुभयो ।
अधिकारी दम्पतीको अनशन तोडाउन पटक–पटक प्रयास गरिए पनि मागमाथि माग थपिँदै गएकाले कार्यान्वयन गर्न सम्भव नभएको उल्लेख गर्दै उहाँले पछिल्लो समय रु दुई अर्ब क्षतिपूर्ति उपलब्ध गराउन माग गरिएकामा सरकारबाट सो रकम उपलब्ध गराउन सकिने स्थिति नभएको पनि बताउनुभयो ।
गङ्गा अधिकारीले पनि अनशन तोड्न नमानेको हुँदा मुखबाट खाना खुवाउने स्थिति नभएकाले सबै पोषण भएको सलाइनलाई नसाबाट दिने काम चालु राखिएको उपप्रधानमन्त्री गौतमले जानकारी दिनुभयो















प्रतिक्रिया