१ कार्तिक २०८३, आइतबार

सामाखुशीलाई भेट्रान फुटबल उपाधि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० चैत । सामाखुशी फुटसल क्लबले शशिकला स्मृति दोश्रो नेपाल कप भेट्रान फुटबल प्रतियोगिताको उपाधि शनिबार जितेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तानद्वय हरि खड्का र राकेश श्रेष्ठ सम्मिलित सामाखुशी टोलीले कैलालीको साइनिङ सन फुटबल एकेडेमीलाई ६–० गोलअन्तरले पराजित ग-यो ।

टासी छिरिङले ह्याट्रिक गरे भने सरोज थापा, निमा लामा र डिल्लीराम श्रेष्ठले १–१ थप्दै टिमको जित फराकिलो बनाए । सामाखुशीका गोलरक्षक पञ्चनारायण महर्जन ‘म्यान अफ द म्याच’ चुनिए ।

स्पोर्ट्स फर अल क्लब, नेपाल र राष्ट्रिय खेलकुद संघ, नेपालद्वारा संयुक्त आयोजित प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार पाए । विजेता र उपविजेताको पुरस्कार गत संस्करणको भन्दा दोब्बर हो ।

यल्लो प्यागोडाको मुख्य प्रायोजनमा भएको प्रतियोगितामा साइनिङका रविन्द्र श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी घोषित भए । प्रतियोगिताभर ७ गोल गरेका सामाखुशीका सरोजकुमार थापा सर्वाधिक गोलकर्ता बने । दुवैले १०–१० हजार नगद पुरस्कार पाए । नाइट किङ फुटबल क्लब, सानोगौचरणले अनुशासित टिमको उपाधि हात पा-यो ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट, यल्लो प्यागोडाका अध्यक्ष दिलविकास राजभण्डारी, आयोजक क्लबका अध्यक्ष लोकबहादुर शाहीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

चैत १० गतेबाट सुरु नकआउट प्रतियोगितामा ११ टिम सहभागी थिए । फाइनल बाहेक सबै खेल लगनखेलस्थित बुद्धिविकास मण्डलको मैदानमा खेलाइएको थियो ।