काठमाडौँ, १२ असोज । अवरुद्ध संसद् खुलाउने विषयमा सिंहदरबारमा आज बसेको प्रमुख तीन दल नेपाली काँग्रेस, नेकपा (एमाले) र एकीकृत नेकपा (माओवादी)का शीर्ष नेताहरुको बैठक बिनानिष्कर्ष टुङ्गिएको छ ।
उच्चस्तरीय राजनीतिक संयन्त्र गठन र त्यसको नेतृत्व तथा द्वन्द्वकालमा मारिएका र बेपत्ता भएकाहरुको परिवारलाई राहत दिने विषयमा कुरा नमिलेपछि आजको बैठक बिनानिष्कर्ष टुङ्गिएको हो ।
बैठकमा अवरुद्ध संसद् खुलाउने र आगामी माघ ८ गतेभित्र संविधान जारी गर्ने विषयमा गम्भीर छलफल भए पनि फेरि तीन दलको बैठक बसेर सहमतिमा पुगिने काँग्रेसका कार्यबाहक सभापति रामचन्द्र पौडेलले जानकारी दिनुभयो ।
छलफलका क्रममा विवादित विषयमा यही असोज १४ गतेसम्म सहमति खोजिने र सहमति नभए असोज २१ गते बस्ने संविधानसभाको बैठकमा प्रस्तावका रुपमा पेस गरिने उहाँले बैठकपछि सञ्चारकर्मीलाई बताउनुभयो ।
बैठकमा संविधानका अन्तर्वस्तु खासगरी राज्यको पुनःसंरचना तथा राज्यको शासकीय स्वरुपबारे पनि छलफल भएको थियो । साथै संसद्को गतिरोध अन्त्य गर्न विगतमा प्रमुख दलबीच गरिएको चारबुँदे सहमति कार्यान्वयन गर्नेबारेमा पनि छलफल भएको एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बताउनुभयो ।
एमाओवादीको मागबमोजिम उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषयमा सहमति भएपनि द्वन्द्वकालमा मारिएका र बेपत्ता भएकाहरुको परिवारलाई रु दुई लाखका दरले राहत दिने विषयमा केही कुरा नमिलेपछि पुनः बस्ने गरी बैठक सकिएको नेता श्रेष्ठले जानकारी दिनुभयो ।
आजै अपराह्न ४ बजे बोलाइएको व्यवस्थापिका–संसद्को बैठक अघि नयाँ बानेश्वरमा तीन दलको बैठक बस्ने र अवरुद्ध संसद् खोल्ने विषयमा सहमति गरिने बताइएको छ ।















प्रतिक्रिया