न्युयोर्क, ११ असोज । संयुक्त राष्ट्र सङ्घका महासचिव बान कि–मुनले नेपालको राजनीतिक सङ्क्रमणको व्यवस्थापनका लागि प्रधानमन्त्री सुशील कोइरालाले खेलेको भूमिकाको उच्च प्रशंसा गर्नुभएको छ ।
संयुक्त राष्ट्र सङ्घको मुख्यालयमा शनिबार भएको शिष्टाचार भेटवार्तामा महासचिव बानले नेपालको शान्ति प्रक्रिया र संविधान लेखनले छिटोभन्दा छिटो निष्कर्ष पाउने विश्वास व्यक्त गर्दै आफूले शान्त र समृद्ध नेपाल देख्न चाहेको बताउनुभयो ।
भेटमा संविधान लेखन, शान्ति प्रक्रिया, सत्य निरुपण तथा मेलमिलाप आयोग गठन तथा विश्व शान्तिस्थापना कार्यमा नेपालले पु¥याउँदै आएको योगदानका बारेमा प्रधानमनत्री कोइराला र बानबीच छलफल भएको थियो ।
विश्व शान्ति स्थापना कार्यमा नेपालले गरेको योगदानको सह्राना गर्दै बानले शान्ति स्थापनामा कार्यमा नेपाली सुरक्षा फौजले साहसिक र व्यावसायिक प्रदर्शन गरेको बताउनुभयो ।
प्रधानन्त्री कोइरालाले जलवायु परिवर्तनबाट मानिस र प्रकृतिमा परेको असर न्यून गर्ने सन्दर्भमा महासचिव स्वयम्ले चासो दिएर जलवायु परिवर्तनसम्बन्धी सम्मेलनको आयोजना गर्नुभएकामा धन्यवाद व्यक्त गर्नुभयो । भेटवार्तामा प्रधानमन्त्री कोइरालाले विश्व शान्ति स्थापनाका लागि नेपालले निरन्तर योगदान पु¥याउने प्रतिबद्धता व्यक्त गरेको परराष्ट्र मन्त्रालयका कामु सचिव शङ्करदास वैरागीले जानकारी दिनुभयो ।
प्रधानमन्त्री कोइरालाले महासचिव बानलाई नेपाल भ्रमणको निम्तोसमेत दिनुभयो । भेटमा परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे, प्रधानमन्त्रीका परराष्ट्र मामिलासम्बन्धी सल्लाहकार डा दिनेश भट्टराई, राष्ट्र सङ्घका लागि नेपालका स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टराईलगायत भ्रमणदलका अन्य सदस्य सहभागी हुनुहुन्थ्यो ।
















प्रतिक्रिया