
दिनेश श्रेष्ठ
जाजरकोट, १६ चैत । काँग्रेसका जाजरकोटका युवा नेताको विभत्स हत्या भएपछि जिल्लामा तनाव उत्पन्न भएको छ ।
अज्ञात समूहले मंगलबार बेलुका जाजरकोट काँग्रेसका युवा नेता तथा पाँचतारा युवा संरक्षक मञ्चका अध्यक्ष एवंम सामाजिक अभियन्ता रवीन्द्र शाहलाई भीरबाट खसालेर हत्या गरेको हो । हत्यारालाई पत्ता लगाई कडा कार्बाहीको माग गर्दै आज जाजरकोट सदरमुकाम बन्द गरिएको छ ।
हत्यारालाई पत्ता लगाई कडा कार्बाही गर्न भन्दै आज बिहानै नेपाली काँग्रेसका कार्यकर्ता, निर्माण व्यवसायी, नागरिक अगुवा र सामाजिक कार्यकर्ता सहितको टोलीले बजार बन्द गर्न भन्दै सबैमा अनुरोध गर्दै हिडेको थियो भने स्थानीय प्रशासन र प्रहरीलाई समेत दोषीलाई पत्तालगाई कावाही गर्न समेत माग गरेको छ ।
यसरी भयो हत्या
मंगलबार साँझ चार जना साथीहरुसँगै उनी घुम्न निस्केका थिए । चार जना मध्ये २ जना साथीहरु अलि अगाडि थिए । मोबाइलमा फोन आएपछि शाह रोकिएर कुराकानी गर्न थाले । त्यसपछि उनीसँगै रहेका अर्का साथी केही अघि बढे । तर, केही समयमा शाह नआएपछि खोजी गर्दा हत्या गरेको अवस्थामा भेटिएको हो । ढुंगा प्रहार गरी हत्या गरेपछि भीरबाट खसालेर हत्या गरिएको हुनसक्ने अनुमान गरिएको छ ।
को – को पक्राउ परे ?
प्रहरीले शाहसंगै बेलुका घुम्न हिडेका पाँचतारा युवा संरक्षक मञ्चमै कार्यरत कार्यक्रम संयोजक हिटलरसिंह राठौर र अन्य कर्मचारीहरु किरण थापा, फणिन्द्र सुनार, भीमबहादुर खत्री, नरबहादुर पुन, दिपेन्द्र शाही सूर्यप्रकाश बिक, सुशील शाही, ठगेन्द्रबहादुर सिंह र रुकुम चौरजहारी नगरपालिकाका बालकृष्ण बुढाथोकी ८ जनालाई अनुसन्धानका लागि पक्राउ गरेको हो । उनीहरुलाई हिरासतमा राखेर घटनाका बारेमा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताए ।
अहिलेसम्म हत्याको कारण खुल्न सकेको छैन् । तर, आज बिहान पनि घटनास्थलमा पुगेर खोजतलास गर्ने क्रममा मृतक शाहको मोबाइल फुटेको अबस्थामा फेला परेकाले केही कुराहरु खुल्न सक्ने अनुमान प्रहरीले गरेको छ ।
स्थानीय प्रशासनले २४ घण्टाभित्र सत्यतथ्य कुरा बाहिर ल्याउने बताएको छ ।















प्रतिक्रिया