काठमाडौं, १६ चैत । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले एमाले नेताकी श्रीमती र बुहारीलाई दुर्व्यवहार गरेका छन् ।
एमालेका केन्द्रीय सदस्य सुमन प्याकुरेलको श्रीमती ज्योती प्याकुरेल र बुहारी रक्तिम ज्योती प्याकुरेललाई राजविराजस्थित निजी कामले आफ्नो घरमा गएको बेला मंगलबार मधेसी मोर्चाका जिल्ला संयोजक दिनेश यादवको नेतृत्वमा आएको अराजक जत्थाले घेराबन्दी गरी गालीगलौज र दुव्र्यवहारको प्रयास गरेको एमाले सचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
घटनापछि बुधबार सचिव ज्ञवालीले एक विज्ञप्ति जारी गर्दे मधेसी मोर्चाको जिल्ला संयोजकबाटै महिलामाथि दुर्व्यवहार र आक्रमणको प्रयास हुनु आपत्तिजनक र खेदपूर्ण भएको उल्लेख गरेका छन् ।
यस्तो छ एमालेद्धारा जारी विज्ञप्तिः
नेकपा (एमाले)का केन्द्रीय सदस्य कमरेड सुमन प्याकुरेलको श्रीमती ज्योती प्याकुरेल र बुहारी रक्तिम ज्योती प्याकुरेललाई राजविराजस्थित निजी कामले आफ्नो घरमा गएको बेला हिजो चैत १५ गते मधेसी मोर्चाका जिल्ला संयोजक दिनेश यादवको नेतृत्वमा आएको अराजक जत्थाले घेराबन्दी गर्ने, गालीगलौज गर्ने र दुव्र्यवहारको प्रयास घटनाप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।
नेपाली समाजमा महिलालाई अत्यन्तै सम्मानजनक रुपमा हेरिन्छ । तर मधेसी मोर्चाको जिल्ला संयोजकबाटै महिलामाथि यस्ता खालका दुव्र्यवहार र आक्रमणको प्रयास हुनु आपत्तिजनक र खेदपूर्ण छ । उहाँहरुलाई सम्भाव्य आक्रमणबाट जोगाउन प्रहरी प्रशासनले खेलेको भूमिकाका लागि हामी धन्यवाद दिन्छौं । मधेसी मोर्चाका यस्ता आपत्तिजनक क्रियाकलापहरु निरन्तर जारी छन् । यसै सिलसिलामा देशका विभिन्न जिल्लामा नेपाली कांगे्रसलगायत विभिन्न पार्टीका कार्यक्रम बिथोल्ने र आफूसँग असहमत हुने कार्यकर्ताहरु माथि आक्रमण गर्ने काम मधेसी मोर्चाबाट भइरहेको छ । नेकपा (एमाले) मोर्चाका यस्ता क्रियाकलापको निन्दा र भत्र्सना गर्दै मोर्चालाई लोकतान्त्रिक तथा मानवीय आचरण देखाउन र राजनीतिक ढंगले प्रस्तुत हुन ध्याननाकर्षण गराउँछौं ।
प्रदीप ज्ञवाली
सचिव
केन्द्रीय सचिवालय















प्रतिक्रिया