घोराही । नेपाली सांगीतिक क्षेत्रका लोकप्रिय संगीतकार सन्तोष श्रेष्ठले आफ्नो जन्मभूमि दाङमा राष्ट्रिय भावका गीतहरूको एकल गायन सम्पन्न गरेका छन् ।
राष्ट्रकवि माधाव घिमिरेको रचना र नातिकजीको संगीत र स्वरमा रहेको ‘नेपाली हामी रहौँला कहाँ…’ डी.बी. महेशको रचना र सङ्गीत र स्वर रहेको ‘हे आमा नेपाल तिमीलाई…’ बोलका राष्ट्रिय भावका गीत अग्रज स्रष्टाको सम्मानमा २ वटा गीत साथै आफ्नो प्रकाशोन्मुख एल्बम ‘सुरक्षा’मा संग्रहित ३ वटा गरी जम्मा ५ वटा राष्ट्रिय भावका गीत गाएका थिए ।
‘सुरक्षा’मा रहेको कालीप्रसाद रिजालको शब्दमा ‘सुन हे सुन तन्नेरी हो…’ दिनेश अधिकारीको शब्दमा ‘पूर्व जागौँ पश्चिम जागौँ…’ नवराज लम्सालको शब्दमा ‘सकिएला संसार छोड्न…’ बोलका राष्ट्रिय भावका गीतहरू सन्तोषले सुनाउँदा दर्शकहरू भावुक बनेका थिए ।
कार्यक्रममा उपस्थित साहित्यकार डा. नवराज लम्सालले भर्खरै भारतीय आक्रमणबाट गोविन्द गौतमको निधन भएको बेला आयोजना गरिएको यो राष्ट्रिय भावको सांगीतिक साँझलाई ‘गोविन्द गौतम सम्मान साँझ’ पनि भन्न सकिने बताए । गीत, संगीत र गायनका त्रिवेणी सन्तोष श्रेष्ठ नेपालकै गहना भएको उल्लेख गर्दै उनले राम्रो संगीतकार मात्रै नभएर एक असल नागरिक भएकोले श्रेष्ठलाई प्रोत्साहन दिनुपर्ने बताए ।
संस्कृतिविद् तथा बरिष्ठ संगीतकार बुलु मुकारुङले पनि श्रेष्ठ नेपालकै सम्पत्ति भएको बताए । मुकारुङले भने, ‘यस प्रकारका एकल गायन प्रसस्त भएका छन् तर मिश्रित गीतहरूको गायन भएको पाएका छौँ ।’ उनले राष्ट्रिय भावका गीतहरू मात्रै समेटिएको एकल गायन नेपालमै पहिलो पटक भएको उल्लेख गरे ।
राप्ती साहित्य परिषदका अध्यक्ष पुरुषोत्तम खनालको अध्यक्षता एवम् रेडियो नेपालका नायव कार्यकारी निर्देशक श्रीभद्र वाग्लेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा परिषदका बरिष्ठ उपाध्यक्ष टीकाराम उदासीले स्वागत गरेका थिए ।















प्रतिक्रिया