काठमाडौ, १३ चैत । जगदम्बा हस्पिटालिटीले क्षतिको पूर्वआकलन नगरीकनै होटेल हिल्टन निर्माणकार्य सुरु गरेको पाइएको छ । काठमाडौं महानगरपालिकाको क्षतिपूर्ति मूल्यांकन समितिले उक्त बेहोराको प्रतिवेदन बुझाएपछि यस्तो रहस्य खुलेको हो । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
जगदम्बाले होटेलको जग खन्ने क्रममै पुनर्विचार नगर्दा ग्रान्ड होटेलका मालिक रामअवतार गोयललगायत अन्यको घरमा क्षति पुगेको र सडक भासिएको पाइएको छ । प्रतिवेदनमा भनिएको छ, ‘होटेल बनाउने क्रममा जमिन खोतल्दा नै वरिपरिको जमिन भासिएको पाइयो ।
पश्चिमतर्फ गोयलको घर सुरक्षित गर्न राखिएका पाइपले जमिन तथा घरको पूर्ण भार थेग्न नसकेपछि भासिएको हो, साइट प्रोटेक्सनको कुनै पनि मापदण्ड पूरा गरेको देखिएन । जगदम्बाको लापरबाहीका कारण गोयलको घर अहिले भासिएर पूर्वतर्फ ढल्किएको प्रतिवेदनमा उल्लेख छ ।
होटेल निर्माण क्षेत्रवरिपरिको संवेदनशीलता, सम्पत्ति नासको परिणाम र फिल्डको अन्य अवस्था हेर्दा पश्चिमतर्फको क्षेत्र सुरक्षित गर्न दुई पक्षका विज्ञ परिचालन गर्न समितिले सुझाएको छ । क्षतिपूर्ति मूल्यांकन समितिले क्षतिको मूल्यांकन यकिन गर्न नसकेपछि विज्ञ लगाउनुपर्ने राय पेस गरेको छ ।
‘जियोग्राफिकल इन्जिनियर र रेट्रोफिट डिजाइन गर्ने स्ट्रक्चरल इन्जिनियरसमेतको राय एवं दुवै पक्षको सहमति आवश्यक पर्ने देखिन्छ’, प्रतिवेदनमा भनिएको छ, ‘महानगरपालिकाका तर्फबाट निर्णय सदस्यसमेतको संलग्नता हुने गरी पुनः संयुक्त फिल्ड निरीक्षण गरेर क्षति मूल्यांकन गर्दा वास्तविक क्षतिको अवस्था प्रष्ट हुन्छ ।’
महानगरपालिकाले भवन निर्माण इजाजत विभागका इन्जिनियर वीरबहादुर खड्काको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको थियो ।
प्रतिवेदन बुझेपछि महानगरपालिकाका कार्यकारी अधिकृत ईश्वरराज पौडेलले कानुन अधिकृत हरिमाया घिमिरेलाई भवन निर्माण इजाजत विभागसँग समन्वय गरेर काम अगाडि बढाउन निर्देशन दिएका छन् ।
होटेल हिल्टन निर्माणका लागि महानगरपालिकाले उपत्यका विकास प्राधिकरणसँगको समन्वयमा नक्सा पास गरेको देखिए पनि उसको दोहोरो भूमिका देखिन्छ ।












प्रतिक्रिया