१ कार्तिक २०८३, आइतबार

मधेसी दलहरुसँग कुनै हालतमा सहकार्य हुँदैन : अध्यक्ष न्यौपाने

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ चैत । चुरेभावर राष्ट्रिय एकता राष्ट्रिय नेपालका अध्यक्ष तथा पूर्वमन्त्री बद्रीप्रसाद न्यौपानेले स्थानीय तहको निर्वाचनमा मधेस केन्द्रित दलहरुसँग आफूले कुनै पनि हालतमा सहकार्य नगर्ने घोषणा गरेका छन् ।

मधेसी मोर्चाका नेताहरुले उठाएका कतिपय मागका विषयमा असहमति जनाएका अध्यक्ष न्यौपानेले संसदमा प्रतिनिधित्व नै नगर्ने साना दलहरुसँग सहकार्य गरे पनि मधेस केन्द्रित दलहरुसँग सहकार्य असंभव रहेको बताए ।

चुरेभावर पार्टीको काठमाडौं जिल्ला कार्यासमितिको कार्यालयको शनिबार चाबहिलमा उद्घाटन गर्दै अध्यक्ष न्यौपानेले राष्ट्रियताका विषयमा कहिल्यै ध्यान नदिने नेताहरुसँग सहकार्यको कुनै अर्थ नहुने बताए । ‘मधेसी मोर्चाका शीर्ष नेताहरु मधेसी जनताको पक्षमा छैनन्’, उनले भने, ‘सिधासादा मधेसी जनताको नाममा मधेसी मोर्चाका केही नेताहरुले हालिमुहाली मच्चाएका छन् । ती नेताहरुको चुरेभावर पार्टीले भण्डाफोर गर्छ ।’

तराईका अधिकांश जिल्लाहरुमा स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिने तयारी गरेको बताएका अध्यक्ष न्यौपानेले भने, ‘विजय र पराजयको कुरा जनताको हातमा छ । चुरेभावर पार्टी चुनावी प्रतिस्पर्धाबाट पछाडि हट्दैन ।’

राष्ट्रिय पार्टी बन्नका लागि ३ प्रतिशत र प्रत्यक्षमा १ सिट जित्नै प्रावधानको स्वागत गरेका न्यौपानेले जनताको ३ प्रतिशत पनि जनता नभएका नेता र राजनीतिक दलहरुले क को राजनीति गर्ने भनेर प्रश्न गरे । उनले भने, ‘चुरेभावर पार्टी राजनीतिक बिकृति र विसंगती अन्त्य होस् भन्ने पक्षमा छ । राष्ट्रिय पार्टीका लागि गरिएको थ्रेस होल्डको व्यवस्था ठीक छ ।’

विज्ञानमन्त्री तथा समाजवादी जनता पार्टीका अध्यक्ष प्रेमबहादुर सिंहले राष्ट्रिय पार्टीका लागि राखिएको थ्रेस होल्डको व्यवस्था आफूलाई चित्त नबुझेको बताए । उनले भने, ‘थ्रेस होल्ड संविधान विपरित व्यवस्था गरिएको छ । ठूला दलहरुको दवावमा यो व्यवस्था राखिएको छ । साना दलहरु यसको पक्षमा छैनन् ।’

चुरेभावर राष्ट्रिय एकता पार्टी काठमाडौं कार्यसमितिका अध्यक्ष पूर्णबहादुर क्षत्रीले मुलुकको राष्ट्रियताका पक्षमा आफूहरु सधै एकजुट भएर संघर्ष गर्ने बताए । चुरेभावर पार्टीले राष्ट्रियताका पक्षमा लिएको सिद्धान्तबाट प्रभावित भएर आफू माओवादी पार्टी परित्याग गरेर आएको बताएका थिए ।