काठमाडौं, १२ चैत । स्थानीय तहको चुनावको तयारी निर्वाचन आयोगले तीब्र रुपमा अगाडि बढाइरहेका बेला विभिन्न दलका युवा नेताहरूले अबको चुनावमा जनतामा लोकप्रिया व्यक्तिलाई छनौट गरेर उम्मेदवार बनाउन प्रस्ताव गरेका छन् । उनीहरूले देश, जनता र समाजलाई केन्द्रमा राखेर काम गर्न सक्ने नेताको खाँचो रहेको टिप्पणी गरे ।
उनीहरूले वैशाख ३१ गतेको स्थानीय निर्वाचनको बिकल्प नरहेको समेत उल्लेख गरेका छन् । उनीहरू भन्छन्, ‘संविधानको रक्षाका लागि चुनाव अनिवार्य छ । चुनावको विकल्प छैन । सबै मिलेर चुनाव सफल बनाउनु पर्छ ।’
दैनिक नेपाल डटकमसँग कुरा गर्दै माओवादी केन्द्रका प्रभावशाली नेता टोपबहादुर रायमाझीले स्थानीय तहको निर्वाचनमा आशंका नगर्न आग्रह गरे । उनले भने, ‘चुनाव वैशाख ३१ गते हुन्छ । चुनावको कुनै विकल्प छैन ।’ सरकारले सोहीअनुसार काम अगाडि बढाएको उनले बताए ।
नेता रायमाझीले वैशाख ३१ गते स्थानीय तहको चुनाव हुन सकने भने सरकार र राजनीतिक पार्टीहरूका लागि ठूलो दुर्भाग्य हुने चेतावनी दिए ।
उनले स्थानीय चुनावमा राष्ट्र, जनता र पार्टीप्रति प्रतिवद्ध व्यक्तिहरूलाई उम्मेदवार बनाउनु पर्ने बताए ।
एमालेका मुख्य सचेतक भानुभक्त ढकालले चुनावको तयारीका सन्दर्भमा एमाले धेरै अगाडि बढिसकेको बताए । उनले भने, ‘स्थानीय चुनाव हुनुपर्छ । तोकिएको समयमा चुनाव हुन्छ । एमाले धेरै अगाडि बढिसकेको छ ।’ उनले निर्वाचनलाई आवश्यक पर्ने कानूनहरू एमालेले प्रमुख प्रतिपक्ष दलको हैसियतले सहयोग गरेर पारित गराउन ठूलो भूमिका खेलेको उल्लेख ।
सत्तामा बस्नेहरूले ‘तलबितल’ कुरा गरेका कारण स्थानीय चुनावप्रति आशंका उत्पन्न भएको ढकालको आरोप थियो ।
प्रमुख सचेतक ढकालले उम्मेदवार छनौटमा एमालेले कार्यविधि बनाएर जिल्लाहरूमा सर्कुलेट गरिसकेको बताए । उनले भने, ‘उम्मेदवारका विषयमा एमाले स्पष्ट छ । सक्षम, योग्य, इतिहाँस भएको र जनताले भरोसा गर्ने व्यक्तिलाई उम्मेदवार बनाइनु पर्छ ।’
कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले स्थानीय तहको चुनाव समयसीमाका कारण तोकिएको समयभित्रै गर्नुपर्ने बताए । उनले भने, ‘समयसीमाका कारण चुनाव तोकिएको मितिमा गर्नुपर्ने बाध्यता छ । प्रमुख दलहरूबीच सहमति गरेर नै चुनाव गर्नुपर्छ ।’
नेता पौडेलले आन्दोलनहरूबाट प्राप्त उपलब्धिहरू संस्थात गर्न पनि चुनाव अनिर्वाय रहेको उल्लेख गरे । ‘तलैदेखि चुनावको माहोल बन्दै आएको छ’, उनले भने, ‘अब सबै दलहरू मिल्नु पर्ने समय आएको छ । यो चुनावलाई बिथोल्ने कार्य कसैबाट हुनु हुँदैन ।’
स्थानीय तहको चुनावमा दलगत प्रतिस्पर्धा हुने भएकाले जनतामा राम्रो पहिचान बनाएको र युवापुस्तालाई अगाडि बढाउनु पर्ने पौडेलले सुझाव दिए । ‘जनतामा राम्रो छवि बनाएको र जनताले आशा लिएको व्यक्तिलाई उम्मेदवार बनाउनु पर्छ’, उनले भने, ‘राष्ट्र, जनता र समाजप्रति बफादार व्यक्तिलाई उम्मेदवार बनाउन कांग्रेसलाई मेरो सुझाव छ ।’
मधेसी मोर्चाका नेता तथा सद्भावना पार्टीका महासचिव मनीषकुमार सुमनले आफूहरू चुनावको विरोध नभएको बताए । उनले भने, ‘हामी चुनावको विरोधी होइनौँ । तर हामीलाई चुनावमा भाग लिने बाटो बन्द गरिएको छ । बाटो खोल्नका लागि आग्रह छ ।’ उनले संविधान संशोधन गरेर मोर्चालाई पनि स्थानीय तहको चुनावमा जाने वातावरण मिलाउनु पर्ने बताए ।
कांग्रेसका युवा नेता ऋषि पुरीले स्थानीय चुनावको मिति घोषणाले गाउँगाउँमा चुनावको आफ्नै प्रकारको माहोल ल्याएको बताए । उनले अबको चुनावमा युवा उम्मेदवारहरूलाई अबसर दिनुपर्ने उल्लेख गरे । ‘गाउँको विकासमा अहिले युवाहरूले अलि धेरै अग्रसरता देखाएका छन्’, उनले भने, ‘कांग्रेस होस् वा अरु कुनै पनि दलहरूले युवालाई अगाडि बढाउनु पर्छ । गाउँका जनताको माग पनि त्यही छ ।’
युवा नेता पुरीले केन्द्रमा बसेर सधैभरि शक्तिको अगाडि पछाडि गर्नेहरूलाई स्थानीय तहको चुनावले पाठ सिकाउनु पर्ने बताए । उनले भने, ‘सधै नेताहरूको चाकडी गर्ने र शक्ति केन्द्रको अगाडि–पछाडि गर्नेलाई कुनै पनि दलहरूले उम्मेदवार बनाउनु हुँदैन ।’











प्रतिक्रिया