काठमाडौं, १२ चैत । ठमेलको बैसाली होटेलमा एक महिनादेखि एक इरानी समूह पाँचवटा कोठा बुक गरेर बस्दै आएको थियो । समूहमा पाँच वर्षका बच्चादेखि ७० वर्षका गरी १२ जना थिए ।
उनीहरूले दुईवटा गाडी र केही मोटरसाइकल भाडामा लिएका थिए । गाडी लिएर उनीहरू सबेरै होटेलबाट निस्कन्थेँ, प्रायः बेलुका अबेर आउँथे । कुनै भिआइपी पर्यटक भएको होटेलका कर्मचारीको अनुमान थियो । नयाँपत्रिका दैनिकले समाचार छापेको छ ।
तर, शुक्रबार प्रहरी होटेलमा पुगेपछि मात्र उनीहरूले थाहा पाए, उनीहरू भिआइपी पर्यटक नभएर ‘भिआइपी चोर’ थिए । जसले नाटकीय तरिकाले राजधानीका करिब दुई दर्जन पसलहरूबाट लाखौँ रुपैयाँ चोरिसकेका थिए । गाडी लिएर घुम्न नभई उनीहरू चोरी गर्न निस्कन्थे ।
समूहका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ भने अन्य ६ जना फरार भएका छन् । १२ जनाको समूह नै नेपालमा चोरी गर्न आएको प्रहरीले जनाएको छ ।
समूहका ७० वर्षीय ग्लाम बलबम र उनका छोरा मोहम्मद रियोजेलाई प्रहरीले दरबारमार्गबाट शुक्रबार पक्राउ गरेको हो । त्यस्तै, सोही समूहका चारजना स्वयम्भूमा पक्राउ परेका छन् ।
उनीहरूले पसलमा सामान किन्ने बहाना गरेर पसलको घर्राबाट नाटकीय तरिकाले पैसा चोरेर कारमा भाग्ने गरेको महानगरीय प्रहरी वृत्त कालिमाटीका डिएसपी नवराज अधिकारीले बताए ।
पैसा साट्ने भन्दै झुक्याएर चोरी
राजाको फोटो भएको तथा लालिगुराँसको चित्र भएको हजारका नोट चाहिएको भन्दै पसलेलाई झुक्याएर उनीहरूले चोरी गर्ने र ठग्ने गरेको प्रहरीले जनाएको छ । हालसम्म १५ वटा उजुरी प्रहरीमा परिसकेका छन् । अरू धेरैलाई ठगी गरेको प्रहरी आशंका छ ।
बिहीबार कुलेश्वरमा उनीहरूले चोरी आतंक मच्चाएका थिए । पुष्प केसीको मदिरापसलमा पुगेर मदिरा किन्न भन्दै झुक्याएर ड्रयरमा रहेको ४४ हजार रुपैयाँ चोरेर भागेका थिए । कुलेश्वरकै अन्य पसलबाट पनि त्यही शैलीमा उनीहरूले चोरी गरेका थिए । त्यस्तै, स्वयम्भूबाट ६ जनाले उजुरी दिएको डिएसपी कोमल शाहले बताए । उनीहरूले पक्राउ परेका बाबुछोराले नै ठगी गरेको सनाखत गरेका छन्।
धनी पर्यटकको भेषमा चोर
हिन्दी भाषा बोल्दै उनीहरूले सामान किनेर पसलेसँग नजिकिने र आफूहरूलाई लालिगुँरास र राजाको फोटो भएको हजारका नोटहरू चिनोका लागि चाहिएको बताउने गरेका थिए । कार चढेर जाने भएकाले उनीहरू धनी पर्यटक भएको भ्रम पसलेलाई पार्दथे । कतिपय पसलबाट नोट छान्ने क्रममै हजारका नोट लुकाएर ठग्ने त केही पसलबाट सामान निकाल्न लगाएर त्यही वेला घर्राबाट पैसा निकाल्ने गरेको अनुसन्धानमा खुलेको छ । पक्राउ परेकाहरूले भने आफूहरूले चोरी नगरेको दाबी गरेका छन् । स्वयम्भूमा पक्राउ परेको एक परिवारको भने चोरीको घटना खुलिसकेको छैन । तर, उनीहरू सोही समूहका व्यक्ति भएको र सँगै बस्दै आएको पुष्टि भइसकेको छ ।
विभिन्न देशका मुद्रा बरामद
उनीहरूबाट तीन हजार अमेरिकन डलर, विभिन्न देशका विदेशी मुद्रा बरामद भएको छ । चोरी गर्ने वेला प्रयोग गरिएको बा.११च २५११ नम्बरको कारमा उनीहरू दरबारमार्गबाट पक्राउ परेका हुन् । अन्य चारजना भगवानपाउको एक पसलबाट पक्राउ परेका हुन् । ठगी गर्न खोजेको भन्ने उजुरीका आधारमा चारजना पक्राउ परेका छन् ।
६ जना पक्राउ परेलगत्तै अन्य ६ जनाले होटेलबाट आफ्ना सामान लिएर भागेकाले पनि उनीहरू संगठित रूपमा नै चोरीमा संलग्न भएको प्रहरीको आशंका छ । इरानी नागरिक भए पनि उनीहरू बंगलादेशमा बस्दै आएका थिए । उनीहरू नेपाल आएको ४० दिन भएको पासपोर्टमा देखिन्छ ।
सिसिक्यामराको सहयोगमा पक्राउ
कुलेश्वरको लिकमार्ग टोल सुधार समितिले केही दिनअघि मात्र आफ्नो टोलमा सोलार बत्ती र सिसिक्यामरामा जडान गरेको थियो । सोही क्यामराबाट इरानीहरू पक्राउ गरेका हुन् ।
कुलेश्वरका पसलेहरूलाई ठगी गरेर कारमा भाग्ने उनीहरू चढेको कार सिसिक्यामराबाट पत्ता लागेको थियो । सो कारका धनीबारे विवरण यातायात व्यवस्था कार्यालयबाट लिएपछि प्रहरी कारधनीसम्म पुग्यो । कारधनीले कार विदेशी पर्यटकलाई दिनको आठ हजारका दरले भाडामा दिएको बताए । तिनै पर्यटकलाई खोज्ने क्रममा उनीहरू ठमेलको बैसाली होटेलमा बसेको खुल्यो । ठमेलबाट दरबारमार्गसम्म पिछा गरेर उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । आफूहरूको सहयोगमा चोरी गर्ने विदेशीलाई प्रहरीले पक्राउ गरेको टोल सुधार समितिका सदस्य नवीन रानाभाटले बताए ।












प्रतिक्रिया