काठमाडौं, १२ चैत । एमाले अध्यक्ष केपी ओलीले सांसद दुलारी देवीले मधेसमा पार्टीको विचार स्थापित गर्न पुगाएको योगदानको सधै स्मरण हुने बताएका छन् ।
एमाले सांसद दुलारी देवीको निधन भएपछि शुक्रबार ओलीले जारी गरेको विज्ञप्तिमा यस्तो उल्लेख छ । गत ३ चैतमा सडक दुर्घटनामा गम्भीर घाइते भएकी दुलारी देवीको बिहीबार बी एन्ड बी अस्पतालमा उपचारको क्रममा निधन भएको हो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
‘नेपालको भौगोलिक एकता, जातीय र सामाजिक सद्भावलगायत पार्टीका विचार, दृष्टिकोण र अडानलाई दृढतापूर्वक लागू गराउन निर्वाह गरेको भूमिकाका कारण जनताको सच्चा प्रतिनिधिका रूपमा दुलारी देवी स्मरण भइरहनुहुनेछ,’ वक्तव्यमा भनिएको छ ।
उनको निधनबाट आफू स्तब्ध भएको जनाउँदै ओलीले पार्टीले एकजना असल कार्यकर्ता र संसदीय दलले सक्रिय सदस्य गुमाएको जनाएका छन् ।
स्वर्गीय दुलारी देवीको पार्थिक शरीरलाई शनिबार गृहजिल्ला सर्लाहीमा अन्त्येष्टि गरिने एमाले प्रमुख सचेतक भानुभक्त ढकालले बताए । उनको पार्थिक शरीर शुक्रबार गृहजिल्ला सर्लाही पु-याइएको छ ।
त्यसअघि पार्टी कार्यालय धुम्बाराहीमा श्रद्धाञ्जलीका लागि राखिएको थियो । त्यहाँ अध्यक्ष ओली, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाललगायतका नेता कार्यकर्ताले श्रद्धाञ्जली व्यक्त गरेका थिए ।












प्रतिक्रिया