१४ कार्तिक २०८३, शनिबार

माओवादीको उद्गमस्थल थबाङ निर्वाचनका विषयमा के भन्छ ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रोल्पा, १२ चैत । पछिल्लो समयमा माओवादीको दस वर्षे जनयुद्धको उद्गमस्थल भनेर चिनिने थबाङसँग लामो इतिहास छ । थबाङ सधैं राज्यको कडा प्रतिपक्षमा बसिरह्यो ।

सत्तासँग सधैं टक्कर लिने थबाङले माओवादी जनयुद्धमा हेडक्वार्टरको इतिहास बनायो । २०११ सालदेखि नै थबाङ कम्युनिस्टको गढ मानिन्थ्यो । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

सशस्त्र युद्ध बिसाएर माओवादी शन्तिप्रक्रियामा आइसकेपछि थबाङ फेरि रिसायो । असन्तुष्ट थबाङलाई फकाउन २०६४ सालको संविधानसभाका लागि माओवादी अध्यक्ष पुष्पकमल दाहाल आफैं त्यही क्षेत्रबाट चुनाव लडे ।

उनले त्यो बेला चुनाव जिते । तर २०७० सालको संविधानसभाको निर्वाचन थबाङले बहिष्कार गर्यो । त्यो बेला माओवादी फुटिसकेको थियो । सारा थबाङवासी मोहन वैद्यले अगुवाइ गरेको पार्टीमा थिए ।

वैद्यबाट विप्लव फेरि बाहिर निस्किए । सारा थबाङवासी विप्लवका समर्थक भए । एक महिनाअघि विप्लव नेतृत्वको माओवादीको पार्टी महाधिवेशनको बन्दसत्र थबाङमै भएको थियो । त्यसका लागि सारा थबाङीहरू मिलेर गाउँमा एउटा ठूलो सभाहल बनाए ।महाधिवेशनले चुनाव बहिष्कार नीति पारित गरेको छ ।

तर यसपालि भने थबाङवासी चुनाव चाहन्छन् । अघिल्लोपटक चुनाव बहिष्कार गर्दा थबाङवासी आफूहरू ठगिएको महसुस गर्छन् । विप्लव समर्थक माओवादी अगुवा रेशम शाह (घर्ती) भन्छन्, ‘अब हामीलाई पनि यहाँको विकासका लागि नेता चाहिन्छ । पार्टीको नीति र बहिष्कार गर्ने नै हो तर हामीले आफूअनुकूल चुनाव उपयोग गर्छौं ।’ यसका लागि थबाङवासीले पार्टीसँग पनि अनुमति मागेका छन् ।

थबाङवासी वैशाख ३१ का लागि तय गरिएको स्थानीय तहको चुनावलाई आफूअनुकूल उपयोग गर्ने पक्षमा छन् । त्यहीअनुसार उनीहरूले ‘उम्मेदवारु पनि खोजिरहेका छन् । हामी सधैं राज्यको विपक्षी भएर बस्यौं । अघिल्लो चुनावमा भोट पनि हालेनौं तर अहिले सारा विकासे कामका लागि नेताहरूकै दैलोमा कुद्नुपर्दा आफैंलाई अप्ठ्यारो लाग्छ’, शाह भन्छन्, ‘त्यै भएर अब यसपालिको चुनाव हामीले उपयोग गर्नुपर्छ कि भन्ने लागेको छ ।’