१ कार्तिक २०८३, आइतबार

नयाँवर्षको अवसरमा धनगढी जेसिजले ‘धनगढी हाफ म्याराथन २०१७’ गर्ने

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– दीपक ओली

धनगढी, १० चैत । ‘अब धनगढी दौडिन्छ’ भन्ने नाराका साथ नयाँवर्ष २०७४ को अवसरमा बैशाख १ गते धनगढीमा ‘धनगढी हाफ म्याराथन २०१७’ प्रतियोगिता हुने भएको छ । धनगढी जेसिजको आयोजनामा सो प्रतियोगिता हुने भएको हो ।

धनगढी जेसिजका अध्यक्ष टेकराज पनेरुले प्रतियोगिताका लागि आवश्यक पर्ने तयारीको सुरुवातमा लागेको जानकारी दिए ।

धनगढी जेसिजले सन् २०१४ देखि शुरुवात गरेको यो प्रतियोगिता चौथो संस्करण हो । यसपटकको प्रतियोगितामा नवजीवन सहकारी संस्था लिमिटेड मुख्य प्रवद्र्धक र कैलाली खेलकूद विकास समिति, धनगढी उपमहानगरपालिका र जेसिस एभरेष्ट इङलिस स्कुल प्रबद्र्धक रहेको अध्यक्ष पनेरुले जानकारी दिए ।

नवजीवन सहकारी मुख्य प्रवर्द्धक रहेकोले यसपटकको प्रतियोगिताको नाम ‘नवजीवन धनगढी हाफ म्याराथन २०१७’ राखिएको आयोजक धनगढी जेसिसले जनाएको छ । नवजीवनले प्रतियोगिताका लागि दुई लाख रुपैयाँ सहयोग गरेर मुख्य प्रवर्द्धक भएको हो ।

प्रतियोगितामा अन्तरगत खुला हाफ म्याराथन धनगढी रंगशालाबाट ट्राफीक चौराह हुँदै गेटा तथा गेटा–ट्राफीक चौराह हुँदै पुनः रंगशालासम्म २१ किलोमिटर १ सय मिटरको हुनेछ भने ट्राइसाइकल दौड धनगढी रंगशाला–ट्राफीक चौराह हुँदै पुनः ट्राफीक चौराह–रंगशालासम्म ५ किलोमिटरको हुने प्रतियोगिता मूल समितिका संयोजक सुरज गिरीले बताए ।

यसैगरि कर्पोरेट मिडिया तथा अन्य दौड प्रतियोगिता धनगढी रंगशाला–ट्राफीक चौराह हुँदै पुनः ट्राफीक चौराह–रंगशालासम्म ५ किलोमिटरको हुनेछ ।

प्रतियोगितामा सहभागी हुने् इच्छुक प्रतिब्यक्तिले तीन सय रुपैयाँ प्रवेश शुल्क तिरी प्रतियोगितामा सहभागी हुन पाउने प्रावधान रहेको संयोजक गिरीले जानकारी दिए ।

खुला हाफ म्याराथन प्रतियोगितामा पहिलो हुनेलाई नगद ५१ हजार, प्रमाणपत्र र मेडल, दोस्रो हुनेलाई नगद २५ हजार, प्रमाणपत्र र मेडल तथा तेस्रो हुनेलाई नगद १५ हजार, प्रमाणपत्र र मेडल रहेको आयोजकले जनाएको छ ।

संयोजक गिरीका अनुसार ट्राइसाइकल दौड प्रतियोगितामा पहिलो हुनेलाई नगद पाँच हजार, प्रमाणपत्र र मेडल, दोस्रो हुनेलाई नगद तीन हजार, प्रमाणपत्र र मेडल तथा तेस्रो हुनेलाई नगद दुई हजार, प्रमाणपत्र र मेडल रहेको छ भने कर्पोरेट मिडिया तथा अन्य दौड प्रतियोगिता विजेतालाई आकर्षक पुरस्कार र प्रमाणपत्रको रहेको छ ।

प्रतियोगितामा सहभागी सबै खेलाडीलाई जेसिजको लोगो अंकित भएको भेष्ट उपलब्ध गराईने छ । प्रतियोगिताका लागि सुरक्षा निकाय लगायतसँग समन्वय भइरहेको अध्यक्ष पनेरुले बताए । प्रतियोगितामा झण्डै साढे बाह्र लाख खर्च हुने र संयोजक गिरीले बताए ।

घुम्ती शौचालय सञ्चालन गरिने
धनगढी जेसिजले नवजीवन सहकारीले प्रतियोगितामा गरेको दुई लाख सहयोग र अरु बचेको रकमबाट धनगढीमा घुम्ती शौचालय सञ्चालन गरिने छ ।

धनगढी ७ नम्बर प्रदेशको सबैभन्दाबढी चहलपहल हुने क्षेत्र हो । यहाँ विभिन्न संघसंस्थाका ठूलठूला कार्यक्रम हुने तर कार्यक्रममा आउनेहरुलाई दिसापिसाव गर्न ठूलो समस्या हुने भएकोले घुम्ती शौचालय सञ्चालन गर्न लागेको अध्यक्ष पनेरुले जानकारी दिए ।

‘घुम्ती शौचालय सञ्चालन गर्दा कार्यक्रममा आउनेहरुलाई सजिलो तथा वातावरण पनि प्रदुर्षण हुनबाट केही सहयोग पुग्ने आशा रहेको छ’, अध्यक्ष पनेरुले भने, ‘शौचालय प्रयोग वापत सामान्य शुल्क लिइनेछ ।’