भक्तपुर, १० असोज । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको कुनै तानाशाहलाई बाँकी नराख्ने चेतावनी दिनुभएको छ ।
युवा सङ्घ नेपाल बालकोटले शुक्रबार भक्तपुरमा आयोजना गरेको विजयादशमीको शुभकामना आदानप्रदान एवम् सम्मान कार्यक्रममा बोल्दै उहाँले यस्तो चेतावनी दिनुभएको हो ।
नेता माधव नेपालले पछिल्लो पछिल्लो समय दिएको अभिव्यक्तिप्रति लक्ष्यित गर्दै उहाँले भन्नुभयो, ‘मेरो जन्म नै तानाशाहविरुद्ध लड्न भएको हो, देशको तानाशाह होस् वा पार्टीको तानाशाह, यस विरुद्ध म लड्छु ।’
एमाले स्वेच्छाचारी पार्टी नभएको बताउँदै उहाँले भन्नुभयो – ‘पार्टीभित्र भागबण्डा गर्दै हिँड्ने एमाले संयुक्त मोर्चा होइन, न त स्वेच्छाचारी पार्टी नै हो, एमाले राष्ट्रको परिवर्तन गर्ने, राष्ट्र हाँक्ने पार्टी हो, यो भागबण्डा गरेर अगाडि बढ्दैन ।’
उहाँले देशमा लोकतन्त्र स्थापनापछिको परिवर्तनको एजेन्डालाई मिलाएर लैजाने जिम्मेवारी एमालेको काँधमा आएको जिकिर गर्दै एमालेले परिवर्तनको एजेन्डाअनुरुप सबैलाई मिलाएरै सहमतिमा ल्याउने विश्वास व्यक्त गर्नुभयो ।
भक्तपुरले पहिलोपटक एमालेबाट केन्द्रीय सदस्य, सभासद् र मन्त्री पाएको प्रसङ्ग कोट्याउँदै उहाँले भक्तपुरको विकास गर्ने जिम्मेवारी अब एमालेको काँधमा आएकाले यस अभियानमा आफूले पनि सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रममा उद्योग मन्त्री महेश बस्नेतले देशभर एक परिवार एक उत्पादनको नीति लागू गर्ने बताउँदै स्थानीयस्तरको उत्पादनलाई प्राथमिकता दिएर मन्त्रालय अगाडि बढ्ने बताउनुभयो ।
कार्यक्रममा मन्त्री बस्नेत, एमालेका सभासद् केदार सञ्जेल र वैकल्पिक केन्द्रीय सदस्य सोम मिश्रलाई सम्मान गरिएको थियो ।















प्रतिक्रिया