भैरहवा, ९ चैत । राष्ट्रिय गौरवको परियोजना गौतमबुद्ध विमानस्थल भैरहवाको निर्माण कार्य विगत ६ दिनदेखि रोकिएको छ । निर्माण कार्य रोकिएपछि विमानस्थलको भविष्यको बारेमा समेत चिन्ता प्रकट हुन थालेको छ ।
निर्माणको मुख्य ठेक्का पाएको चिनियां कम्पनी नर्थवेस्ट सिभिल कन्सट्रक्सन ग्रुप लिमिटेड चाइना र सब कन्ट्रयाक्टर नर्थवेस्ट नेपाल ईन्फा प्रालिबीचको लेनदेन हिसाबको विवाद चूलिदा निर्माण कार्य ठप्प भएको हो ।
सन् २०१७ को जनु २ तारिख अर्थात २०७४ जेठ १९ गतेभित्र निर्माण सम्पन्न गर्नेगरी ठेक्का सम्झौता गरेको चिनिया कम्पनी नर्थवेस्ट सिभिल कन्सट्रक्सन ग्रुप लिमिटेड चाइनाले आफुले प्राप्त गर्ने रकम मध्ये ८० प्रतिशत रकम नेपाली कम्पनिलाई दिनेगरी सब कन्ट्रयाक्टरको रुपमा नर्थवेस्ट नेपाल ईन्फा प्रा.लिलाई निर्माणको कामको सम्पुर्ण जिम्मा दिएको थियो ।
यी दुई कम्पनिबीचको आन्तरिक सम्झौता अनुसार नेपाली कम्पनिले काम गर्दै जादा अहिले सम्म जम्मा कामको २७ प्रतिशत काम सम्पन्न भएको जनाएको छ । विमानस्थलसंग सरोकारित दातृ संस्था एडिबी, कन्सलट्यान्टको जिम्मा पाएको युसीन कोरियन कन्सलट्यान्ट र परियोजना क्यानले संयुक्त रुपमा मूल्यांकन गर्दा समेत २७ प्रतिशत काम भएको जनाएकोछ । मधेस आन्दोलन, राजनितीक उतावचढाव र निर्माण सामग्रीको अभाव हुदाहुदैं पनि २७ प्रतिशत काम सम्पन्न गरेको नेपाली निर्माण कम्पनि र चाइना कम्पनि बीचको आपसी विवादको मुख्य चूरो के होला भनि धेरैले फरक फरक आंकलन गरिरहेका छन् ।
चाइनीज कम्पनिले क्यान र एडिबी बाट रकम बुझ्ने तर काम गर्ने सब कन्टयाक्टरलाई रकम नदिने गर्दा अहिले विवाद चूलिएको हो । नेपाली कम्पनि नर्थवेस्ट नेपाल ईन्फा प्रा.लिले अहिले सम्म चाइनीज कम्पनिसंग करिब ५५ करोड लिन बाँकी रहेको दाबी गरेको छ । तर यसै हप्ता क्यानबाट २ करोड, एडिबीबाट ६ करोड गरी कुल ८ करोड रकम बुझेको चाइजीन कम्पनीले नेपाली कम्पनीलाई एक रुपैयां पनि नर्दिएपछि लेनदेनको विवाद सतहमा आएको हो ।
सब कन्ट्रयाक्टर नर्थवेस्ट नेपाल ईन्फा प्रा.लिका अध्यक्ष राजु गुरुङले भने “हामीले चाइनिज कम्पनिसंग आन्तरीक सम्झौता अनुसार काम गरिरहेका थियौं । उसले दातृ निकाय एडिबी र क्यानसंग रकम नपाउदां हामी आफै रकम जुटाएर निर्माणलाई निरन्तरता दिएका थियौं तर यसै हप्ता ८ करोड रकम बुझ्दा समेत चाइनिजले हामीलाई दिनुपर्ने रकम मध्ये एक रुपैया पनि दिन नखोज्दा हामीले असन्तुष्टि व्यक्त गरेका हौं ।”
विमानस्थलमा टाइप वानको काम सम्पन्न भइसकेको छ । प्रथम चरणमा बिमानस्थलको ३ हजार मिटरको रनवे, ट्याक्सी वे, अन्तर्राष्ट्रिय टर्मिनल भवन, टावर, प्रशासकिय भवन, आन्तरीक तथा बाह्य पेरीफेरी रोड, एअर कार्गो बिल्डींग, सुरक्षा पोष्ट भवन, बिमानस्थल सडक, नदि डाईभर्सन लगायतका भौतिक निर्माणका कार्यहरु गर्ने गरी कन्सट्रक्सन ग्रुपले ठेक्का पाएको थियो । जस अनुसार घाग्रा नदिको डाइर्भसन, धावन मार्गमा माटो फिलिंग, भस्कट फिलिंग र मिस्कट फिलिंग भइसकेको छ । सबै विल्डिङहरुको जग निर्माण कार्य तथा जहाज पार्किंक स्थल निर्माण पनि अन्तिम चरणमा पुगेको नेपाली निर्माण कम्पनि नर्थवेस्ट नेपाल ईन्फा प्रा.लिका अध्यक्ष गुरुङले जानकारी दिए । अध्यक्ष गुरुङले भने “हामीले काम अनुसारको रकम देऔं, बरु हाम्रो कामको चित्त बुझ्दैन भने हामीलाई हिसाब गरेर पठाइदेऊ भनेका छौं ।”
अध्यक्ष गुरुङले विमानस्थल विवादको बारेमा पत्रकार सम्मेलन नै गरेर भने “हामी भैरहवास्थित गौतमबुद्ध विमानस्थल कुनैपनि हालतमा तोकिएको समयमै, पुरानै ठेक्का रकमको सम्झौता अनुसार गर्नुपर्छ भन्ने मान्यतामा अडिग छौं ।”
चाइनिज ठेकेदार कम्पनिले सन् २०१४ मा सम्झौता गरे अनुसारको रकममा हाल निर्माण सामग्री नपाइने भन्दै रकमको भेरियसन बढाई समय पनि थप गरेर काम गर्न चाहेको पनि बुझिएको छ । यदि त्यस्तो भएमा हाल सम्झौता भएको रकमको तिन गुना थप लागत लाग्ने देखिन्छ । तर नेपाली ठेकेदार कम्पनिका अध्यक्ष गुरुङ रुपन्देहीकै स्थानिय बासिन्दा भएकोले आफ्नो प्रतिष्ठाको लागी भएपनि रकम नबढाई पुरानै सम्झौतामा काम गर्नुपर्ने भन्दै अडान लिएपछि चिनीया कम्पनिले उनको कम्पनिलाई विभिन्न विवादमा मुछेर हटाउन खोजेको देखिन्छ ।
ठेक्का र शिलन्यास
भैरहवामा रहेको गौतमबुद्ध विमानस्थललाई धेरैले भैरहवा एअरपोर्ट भनेर चिन्ने गर्दछन् । घरेलु विमानस्थलको रुपमा रहेको यो विमानस्थलको स्तोरोन्नती गर्ने भन्दै औपाचारिक रुपमा २०७१ साल माघ १ गते विहीबारका दिन तत्कालिन प्रधानमन्त्री स्वर्गिय शुसील कोइरालाले शिलान्यास गरेपछि एकाएक यो विमानस्थल गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको रुपमा परिचीत हुन थालेको हो ।
मुलुकको एकमात्र अन्तराष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थलको धावनमार्ग र क्षमताले धान्न नसकेपछी सरकारले तत्काल बैकल्पीक विमानस्थलको रुपमा भैरहवा स्थित गौतमबुद्ध विमानस्थललाई स्तोरन्नतीगरी अन्तराष्ट्रिय स्तरको बनाउन शुरु गरेको हो । सन् २०१४ को डिसेम्बर ३१ तरिखमा कार्यदेश पाई त्यसै अनुरुप विमानस्थलको स्तरोन्नतीको कामकोलागी सन् २०१७ को जनु २ तारिख अर्थात २०७४ जेठ १९ गतेभित्र निर्माण सम्पन्न गर्नेगरी टेन्डर आहवन गरिएको थियो । मल्टीनेशनल रुपमा आहवन गरिएको बोलपत्र अनुसार ५ चीनिया र २ स्पेनीश ठेकेदारहरुले बोलपत्र भरेको भएता पनि चीनिया ठेकेदार कम्पनि नर्थ वेस्ट सिभील एभीएशन एअरपोर्ट कन्सट्रक्शन ग्रुपले टेन्डर पारी आवश्यक सम्झौता गरी निर्माण कार्य गत ०७१ को माघ १ देखी शुरु गरेको हो । कुल ६ अरब २२ करोड ५१ लख ३० हजार २ सय २७ रुपैयां ९१ पैसा लागतमा निमांण सम्पन्न गरी नर्थ वेस्टले ठेक्का पाएको हो । सन् २०१८ जनवरी १ तारिखको दिन अन्तराष्ट्रीय विमान भैरहवामा अवतरण गराउनेगरी निर्माणको ठेक्का नर्थ वेस्टले लिएको गौतमबुद्ध विमास्थलका आयोजना प्रमुख ओम शर्माले जानकारी दिए ।
विगत
अहिलेको गौतमबुद्ध बिमानस्थल विक्रम सम्बत २०११ सालतिर तत्कालिन यस क्षेत्रका नेताहरु डा. के आइ सिंह र काशिप्रसाद श्रीवास्तवको पहलमा निर्माण भएको हो । शुरुताका भैरहवाको शान्तिनगरमा रहेको विमानस्थल २०२० ÷०२१ सालताका हालको ठाऊमा स्थानान्तरण भएको समाजसेवी बालकृष्ण भट्टराईले जानकारी दिए । भैरहवा क्षेत्रमा ०२५ को दशकदेखी क्याम्पसमा अध्यापनरत भट्टराइका अनुसार तत्कालिन समय करिब १० विगाह क्षेत्रफलमा फैलिएको शान्तिनगरको विमानस्थलबाट भैरहवा पोखरा र भैरहवा काठमाण्डौं उडान हुने गर्दथ्यो । विमानस्थल परिसर कच्ची भएतापनि पक्लिहवामा रहेको बिट्रीस क्याम्पले बाहिरी बाटो भने पीच गरिदिएको थियो । पछि ०२१ सालतिर हालको ठाऊमा विमानस्थल स्थानान्तरण भएपछि त्यस ठाऊमा भैरहवा बहुमुखी क्याम्पस, संस्कृत विद्याश्रम र अन्चल प्रहरी कार्यलय स्थापना भएको हो । तत्कालिन समयमा शान्तिनगरमा विमानस्थल हुदां भैरहवाबाट पोखरा निर्माण सामाग्री लिएर जादैं गरेको टकोटा विमान दुघर्टना भएको थियो । त्यो नेपालको ईतिहांसमा पहिलो विमान दुर्घटना पनि हो ।
बर्तमान
०२३ सालदेखी नियमीत उडान भदै आएको भैरहवा स्थित गौतमबुद्ध विमानस्थलको स्वामित्वमा हाल २ सय ९७ बिगाह ७ कठ्ठा १५ दशमलब ७५ धुर जग्गा रहेको छ । ०६१ साल अघिसम्म ८४ बिगाह ३ कठ्ठा रहेकोमा ०६३ सालमा २ सय १३ बिगाह ४ कठ्ठा १५ दशमलब ७५ धुर थप भएको थियो । अहिले पुनः ०७२ फागुनमा प्रारम्भीक सूचना प्रकाशित गर्दै १४० विगाह थप जग्गा अधिग्रहण गर्नेगरी काम अगाडी बढेको छ भने अझै थप २ सय ८८ बिगाह क्षेत्रफल थप्ने गरी प्रस्ताव पनि गरिएको छ । २ सय ८८ बिगाह अधिग्रणको प्रस्ताव आदेशको रुपमा आई कार्यप्रारम्भ भएमा निर्माणाधीन गौतमबुद्ध विमानस्थलको जग्गाको स्वामित्व ७ सय २५ बिगाह ७ कठ्ठा १५ दशमलब ७५ धुर हुनेछ । यो क्षेत्रफलले आगमी ५० वर्षसम्म अन्तराष्ट्रिय स्तरको उडान भर्ने क्षमता राख्ने विमानस्थल परियोजना प्रमुख शर्माको दाबी छ । दैनिक ५÷६ वटा नियमीत उडान भरिरहेको गौतमबुद्ध विमानस्थलमा अहिले सम्म सबैभन्दा ठूलो फोकर हन्ड्रेड १ सय ५ सिटे कस्मीक एअरको जहाजले उडान भरेको देखिन्छ ।
०७१ माघ १ तत्कालिन प्रधानमन्त्री स्वर्गिय शुसील कोइरालाले औपचारिक रुपमा स्तरोन्नती कार्यको शिलन्यास गरेसंगै यसको नामपनि परिवर्तन भई गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल हुन पुगेको हो । निर्माणको ठेक्का पाएको नर्थ वेस्ट सिभील एभीएशन एअरपोर्ट कन्सट्रक्शन ग्रुपले ठेक्का लिई सब कन्ट्रयाक्टरको रुपमा नेपाली ठेकेदार कम्पनि नर्थवेस्ट नेपाल ईन्फा प्रा.लिलाई २०७२ साउन देखी आन्तरिक सम्झौता गरी सम्पुर्ण निर्माण कामको ठेक्का दिएको थियो ।
शुरुमा एडभान्स ९० करोड र पछि विभिन्न चरणमा गरी हाल सम्म १ अरब ३६ करोड रकम ठेकेदार कम्पनि नर्थवेस्ट सिभिल कन्सट्रक्सन ग्रुप लिमिटेड चाइनाले बुझिसकेको भएतापनि सब कन्ट्रयाक्टर नर्थवेस्ट नेपाल ईन्फा प्रा.लिलाई दिनुपर्ने करिब ५५ करोड रकम नदिदा समस्याले उग्र रुप लिएको देखिएको छ ।
स्थानीय र राजनीति
विमानस्थलको स्तरोन्नतीका लागि पछिल्लो पटक थप २ सय ८८ विघा जग्गा अधिग्रहणका लागि प्रस्ताव गरिएकोछ । आयोजनाका अनुसार पुर्वमा गल्लामण्डी स्थित हनुमान मन्दिरको पश्चिम तर्फ वार्ड नम्बर ४ को कुलो, पश्चिम तर्फ तिनाउ खोलासम्म, उत्तरतर्फ हनुमान मन्दिर देखि लुम्बिनी रोड स्थित मायादेवी चोक सम्म बाटोको केन्द्र देखि ७५ मटिर दक्षिण तर्फ र दक्षिण तर्फ अधिग्रहण भइसकेको सिमाना देखि २ सय मिटर सम्म प्रस्ताव गरिएको छ ।
गौतबुद्ध विमानस्थल अन्तराष्ट्रिय स्तरको बन्ने कार्य शुरु हुनुमा मुख्यतयाः बुद्ध जन्मस्थल लुम्बिनी भएको देखिन्छ । एडिबीको दक्षिण एशियाली पर्यटन पुर्वाधार विकास आयोजनाले विश्व पर्यटनको केन्द्र लुम्बिनीलाई मध्यनजर गरी भैरहवा विमानस्थलमा लगानी गर्ने आट गरेको हो ।
विमानस्थललाई अन्तराष्ट्रिय स्तरको बनाउने कार्यमा एडिबीले ५८ दशमलब ५ प्रतिशत, साउदी अरबको साउदी फन्डबाट ३० दशमलब ५ प्रतिशत र नागरिक उड्डयन प्राधिकरण (क्यान) ले ११ प्रतिशत लागत बेहोेर्ने गरी निर्माण कार्य शुरु भएको हो ।
अहिले थप प्रारम्भीक रुपमा प्रस्तावित २ सय ८८ विगाह क्षेत्रफलका जनताहरुले सम्मानजनक स्थापीत तथा सहि मुआब्जाको माग गर्दै आन्दोलन समेत गरिरहेका छन् । सो क्षेत्रमा करिब साढे ३ सय घरधुरी पर्ने आंकलन गरिएको छ ।
नेपालमा अहिले विमानस्थलको चर्चा धेरै हुन थालेको छ । कहिले निजगढ, कहिले भैरहवा त कहिले पोखरा विमानस्थलाई अन्तराष्ट्रिय बनाउने भन्ने घोषणा भईरहेका छन् । ती मध्ये भैरहवा विमानस्थललाई अन्तराष्ट्रिय स्तरको बनाउने गरी निर्माण कार्य शुरु भएको २५ महिना भइसकेको छ भने पोखरालाई गत बैशाख १ गतेदेखी शिलन्यास सहित शुरु गरिएको छ । यसको अतिरीक्त लुम्बिनी राप्तीमा मात्रै कुरा गर्ने हो भने प्युठानको चाल्नेटार र गुल्मीको सीमिचौरमा पनि घरेलु उडान भर्नेगरी विमानस्थल बनाउने प्रक्रिया शुरु भएको छ । विमानस्थल निर्माणको काममा नेताहरुको कुरा बढी काम थोरै हुने गर्दा वर्ष २०७३ लाइ सरकारले विकास वर्षको रुपमा मनाउने भनी गरेको घोषणा कतै फेल खाने त होइन भनी आशंका गर्ने थुप्रै आधार सृजना भएका छन ।
भैरहवा विमानस्थल निर्माणमा नेपाली र चाइनीज निर्माण कम्पनीबीच विवाद देखिएको भएता पनि यसको अर्को रहस्यमय तत्व लुकेर बसेको छ । भैरहवा विमानस्थलमा जहाजहरु ऋवतरण र उडान भर्दा नजिकैको भारतीय आकाश प्रयोग गर्नुपर्ने र सोमा भारतले पछि विवाद गर्न सक्ने भन्दै केही तत्वले यसमा भूमिका खेलिरहेका छन् । अर्कोतर्फ विमानस्थल निर्माणको मुख्य दातृ निकाय एडिबीले नेपालमा निर्माण कार्य गरिरहेका चिनीया कम्पनिहरुलाई जसरी पनि फेल गराउने रणनीति अनुसार पनि यस्तो विवाद आएको हुने विश्लेषक बताउंछन् ।
एडिबी विशेषतः चिनीयाहरुमाथी हाबी हुन चाहने र चिनीयाहरुले वन बेल्ट वन रोड अनुसार पछिल्लो क्रममा विकासलाई बढवा दिएकोले पनि शक्ति राष्ट्रबीचको आन्तरीक शितयुद्धको चपेटामा पनि यो विमानस्थल परेको हुन सक्ने आंकलन गरिएको छ । चिनीया कम्पनिले गर्ने हरेक निर्माण कार्यमा एडिबीले दबाब र प्रभाव जमाउन चाहन्छ जसको असर यहां परेको एक अर्थवीद बताउंछन् ।
भविष्यः
अन्तर्राष्ट्रिय नागरीक उड्यन प्राधिकरण आईकाउको कोड फोर ई का अनुसार ३ हजार मिटर धावनमार्ग भएको बिमानस्थलमा बोईंग ७७७ सम्मका जहाजहरु अर्थात चौडाई ५२ मिटर देखि ६४.९९ मिटर सम्म रहेका जहाजहरुले उडान र अबतरण गर्न सक्छन् । सम्झौता अनुसार काम भएमा सन् २०१८ को जनवरी १ तारिखदेखी भैरहवामा सिधैं अन्तराष्ट्रिय विमानको उडान र अवतरण हुनेछ । अन्तराष्ट्रिय स्तरको विमानस्थल निर्माण सम्पन्न गर्नकोलागी ९० मिलियन अमेरीकी डलर आबश्यक पर्ने भएता पनि सो मध्ये ६८ मिलीयन अमेरिकी डलर एडिबीले दिने भएको छ भने बाकी नागरिक उड्डयन प्राधिकरणले ब्याहोर्ने छ । जग्गा अधिग्रणकोलागी मात्रै १ सय ४० विगाह जग्गाकोलागी २ अरब ४७ करोड आईसेको छ भने प्रस्तावित २ सय ८८ विगाह जग्गाकोलागी ९ अरब भन्दा बढी बजेट प्रारम्भीक प्रस्ताव गरिएको छ । भैरहवाको विमानस्थलमा अन्तराष्ट्रिय जहाज आउन थालेपछि यस क्षेत्रको मुहार फेरिनेछ । सामाजिक र आर्थिक रुपमा मात्रै नभई राजनितीक रुपमा पनि सबल र सक्षम बन्न टेवा पुग्नेछ । यहांका पर्यटन क्षेत्र र पर्यटन व्यवसायी मात्रै नभएर सामन्य पान बेच्ने ब्यापारीदेखी ठूला ठूला पर्यटन व्यवसायी प्रत्यक्ष लाभान्वीत हुनेछन् । लुम्बिनीबासीकोलागी यो गौरब र अवसरको विषय हो । यसैले यसको निर्माण कार्य तोेकिएकै समयमा सम्पन्न हुनुपर्दछ ।
















प्रतिक्रिया