५ मंसिर २०८३, शनिबार

‘प्रचण्ड’ सरकारविरुद्ध ‘विप्लव’ले वैकल्पिक सत्ता चलाउने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ चैत । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले संविधन विपरितका क्रियाकलाप शुरु गर्ने निर्णय गरेको रहस्य बाहिरिएको छ ।

फागुन २६ देखि चैत ३ गतेसम्म अज्ञातस्थानमा बसेको बैठकले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई ‘दलाल सत्ता’को संज्ञा दिएको हो । सरकारविरुद्ध वैकल्पिक सत्ता चलाउने निर्णय नेपाल कम्युनिष्ट पार्टीले गरेको स्रोतले जनाएको छ ।

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीले गरेको अधिकांश निर्णयहरू संविधान विपरित रहेका छन् । तपाईहरूले गरेका निर्णय त संविधान विपरितका छन् भन्ने प्रश्नमा नाम उल्लेख नगर्ने सर्तमा एक नेताले भने, ‘हामीले यो संविधान नै कहाँ मानेका छौँ र ? हामीले आफ्नै एकीकृत जनक्रान्ति लागू गर्ने हो ।’

सो पार्टीले स्थानीय जनसत्ता सुदृढ गर्दै जनसत्ता सञ्चालन गर्ने निर्णय गरेको एक नेताले जानकारी दिए । उनले भने, ‘यो दलाल सरकारबाट कुनै कुराको पार लाग्ने अवस्था रहेन । अब समानान्तर जनसत्ता चलाउने निर्णयमा पुगिएको छ ।’

वैशाख ३१ गते हुन लागेको स्थानीय निर्वाचनको विरोध गरेको ‘विप्लव’ कम्युनिष्ट पार्टीले ‘स्थानीय तहको चुनाव बिथोल्ने निर्णय’ गरेको छ । सो पार्टीले स्थानीय चुनावमा सहभागी नहुन आह्वान पनि गरेको छ ।

वैशाख ५ गतेबाट देशभर जनसभा गर्ने लगायतका निर्णयहरू पनि कम्युनिष्ट पार्टीले गरेको छ । पार्टीले ३ महिने जनजागरण र एकीकृत जनप्रतिरोध अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

अभियान वैशाख ५ गते कञ्चनपुरबाट सुरू हुनेछ । जनसभा गर्दै झापामा समापन गरिने स्रोतले जनाएको छ ।