काठमाडौं, ५ चैत । सांसद आफैंले पूर्वपदाधिकारीको सुविधा माग गरेका छन् । पूर्वपदाधिकारीको कोटामा सांसदहरूलाई पनि राख्नुपर्ने भन्दै पाँच सांसदले पूर्वपदाधिकारीलाई सुविधा प्रदान गर्नेसम्बन्धी विधेयकमा संशोधन प्रस्ताव दर्ता गराएका हुन् ।
कांग्रेसका चार र फोरम लोकतान्त्रिकका एक सांसदले पूर्वसांसदलाई यातायात, औषधि उपचार र अन्य सुविधा माग गरेका छन् । राजधानी दैनिकले समाचार छापेको छ ।
सरकारले पूर्वपदाधिकारीको कोटामा राष्ट्रपति, उपराष्ट्रपति, मन्त्रिपरिषद्का अध्यक्ष, सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख तथा राष्ट्रियसभाका अध्यक्षलाई राखेर विधेयक ल्याएको थियो ।
सांसदहरूले एक पटक प्रतिनिधिसभा, राष्ट्रियसभा, संविधानसभा वा संघीय संसद् सदस्य भइसकेकाहरूको मर्यादाक्रम निर्धारण गर्न र उनीहरूलाई औषधि उपचार तथा अन्य सुविधा उपलब्ध गराउन भन्दै संशोधन दर्ता गराएका हुन् ।
संशोधन प्रस्ताव राख्नेहरूमा कांग्रेसका सांसदहरू तप्तबहादुर बिष्ट, सञ्जय गौतम, राजीवविक्रम शाह र नरबहादुर चन्द छन् ।
उनीहरूले छुट्टाछुट्टै प्रस्ताव दर्ता गराएका छन् भने फोरम लोकतान्त्रिककी कल्पना चौधरीले पनि यही व्यहोरामा छुट्टै संशोधन दर्ता गराएकी छिन् ।
यसैगरी माओवादी केन्द्रका मनोनीत सांसद जनकराज जोशीले पूर्वपदाधिकारीलाई दिइने भनिएको आवास, सवारी साधन तथा इन्धन, निजी सचिवालय र कर्मचारीजस्ता सुविधा दिइसकेपछि मासिक वृत्ति आवश्यक नहुने धारणा राखेका छन् ।












प्रतिक्रिया