काठमाडौं । विजेन्द्र नौबागे कलाक्षेत्रका लागि स्थापित नाम होइन । तर, उनले कलाक्षेत्रमा आफ्नो स्थान बनाउन सक्रिय छन् ।
पछिल्लो समय मोडलिङ शुरु गरेका विजेन्द्रले रेडियो प्रोग्राम पनि चलाइ सकेका छन् । स्टेज कार्यक्रममा उद्घोष गर्दै आएका विजेन्द्रको स्वरमा उत्तिकै मिठास छ । भन्छन्, ‘म रेडियो कार्यक्रम राम्रो चलाउँछु । अहिले रेडियो कार्यक्रम चलाउन छाडेको छु । समय पनि भएन । तर, स्टेज प्रोग्रामहरू भने चलाउने गरेको छु । गीत पनि गाउँछु ।’
उनी मोडलिङका साथै राम्रो संगीत कम्पोजर र गायक पनि हुन् । नाचगानका सौखिन विजेन्द्रमा कलासँग सम्बन्धित सबै गुण देख्न पाइन्छ ।
‘कलाक्षेत्रमा लाग्ने सानैदेखिको रहर थियो’, विजेन्द्रले भने, ‘गीतसंगीतको क्षेत्रमा मैले गर्न आझै धेरै बाँकी छ । नाम कमाउनु छ ।’
कलाक्षेत्रमा तपाईको नाम चल्न सकेन न किन हो ? भन्ने प्रश्नमा विजेन्द्रले भने, ‘कलाक्षेत्र अत्यन्तै प्रतिस्पर्धाको क्षेत्र हो । यहाँ सानो कामले पनि नाम कमाउन सकिन्छ । तर, मैले काम गरिरहेको छु । समय आउँछ । एकदिन मेरो पनि नाम चल्नेछ ।’ उनले आफ्नो कामलाई इमान्दारिताका साथ लिने व्यक्तिहरू एकदिन अवश्य सफल हुने बताए ।
‘मैले दायाँबायाँ गर्न जान्दिन’, विजेन्द्रले भने, ‘कलाक्षेत्रमा मलाई चिन्नेहरू हुनुहुन्छ । काम गर्न दिनु भएकै छ । यसैमा म सन्तुष्ट छु ।’















प्रतिक्रिया