कञ्चनपुर, ३ चैत । गत बिहीबार आनन्दबजारमा प्रहरी सहायक निरीक्षक (असई) माधव भट्टको सात राउन्ड गोली लोडेड पेस्तोल भारतीय पक्षले लुटेर लगेको खुलासा भएको छ ।
सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालय दिपायलका प्रमुख रोमन्द्र देउजाले असई भट्टको पेस्तोल लुटेर लगेको बताए । नागरिक दैनिकले समाचार छापेको छ ।
भारतीय पक्षबाट हानेको इँटा लागेर असई भट्ट ढलेपछि उनको कम्मरमा राखेको पेस्तोल लुटिएको देउजाको भनाइ छ । ‘भारतीय सुरक्षा फौजले पेस्तोल लुटेको हो वा भारतीय नागरिकले भन्ने कुरा यकिन हुन सकेको छैन’, उनले भने ।
भारतीय सुरक्षा अधिकारीसँगकोे बैठकमा असईको पेस्तोल लुटेर लगेकाले खोजेर फिर्ता दिन आग्रह गरिएको उनले बताए ।
‘भारतीय सुरक्षा अधिकारीसँगको काउन्टर पार्ट बैठकमा पेस्तोल लुटिएकाले खोजबिन गरी फिर्ता दिन कुरा राखिसकेका छौं’, उनले भने । लुटिएको पेस्तोल फिर्ता आउने उनले बताए ।
एसएसबीले समेत प्रतिकारमा उत्रेका स्थानीय बासिन्दालाई ढुंगासमेत हानेको स्थानीय विनोद गौतमले बताए ।
एसएसबीले बन्दुकको कुन्दाले समेत हानेको उनले बताए । एसएसबीले सात राउन्ड हवाईफायर गरेपछि ठानेदारले पेस्तोलबाट चार राउन्ड फायर गरेको प्रत्यक्षदर्शी पुनर्वासका देवेन्द्र खड्काले बताए ।
तीन गोली मिस गए पनि चौथो गोली गोविन्दको कम्मरमा लागेको उनले बताए ।
पुनर्वास नगरपालिका आनन्दबजार नजिक नाालामा दुई देशका सुरक्षा अधिकारीको सहमतिबमोजिम बनाइएको कच्ची कल्भर्ट एसएसबीले भत्काएपछि विवाद भएको थियो ।
आफ्नो भूमिमा बनाएको कल्भर्ट भत्काएपछि स्थानीय प्रतिकारमा उत्रेका थिए । प्रतिकारमा उत्रेका बेला भारतीय सुरक्षाफौजको गोली लागेर ३० वर्षीय गोविन्द गौतमले सहादत प्राप्त गरेका थिए ।












प्रतिक्रिया