५ मंसिर २०८३, शनिबार

कमल थापाले निर्वाचनलक्षित ‘जनताको माझमा राप्रपा’ कार्यक्रम चलाउने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ चैत । आगामी बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनको तयारीको लागि राप्रपाले “जनताको माझमा राप्रपा” नामक कार्यक्रम लिएर चैत्र १० गते भित्र ७५ वटै जिल्लामा केन्द्रीय टोली पठाउने भएको छ ।

आज राजधानीमा सम्पन्न भएको केन्द्रीय अनुशिक्षण कार्यक्रममा राप्रपा अध्यक्ष एवं उपप्रधान, संघीय मामिला तथा स्थानीय विकास मन्त्री कमल थापाले पार्टीका सम्पूर्ण तह र तप्काका नेता, कार्यकर्ताहरु आगामी २ महिना आफ्नो वडा, गाउँ, नगर र क्षेत्रमा सक्रिय रही स्थानीय तहको निर्वाचनमा पार्टीलाई सशक्त र प्रभावकारी रुपमा विजयी गराउन क्रियाशिल रहन आह्वान गर्नुभएको थियो । चैत्र १० गते भित्र ७५ वटै जिल्लामा जाने केन्द्रीय टोलीले जनताको माझमा राप्रपा नामक विशेष कार्यक्रमलाई सफल पार्नेछ ।

सोको लागि स्थानीय तह अनुरुप पार्टीको ईकाई समितिहरुको समायोजन गर्ने, जनताको माझमा राप्रपा कार्यक्रमको निर्देशिका सबै ईकाईहरुमा पुर्याउने, स्थानीय तह निर्वाचन कार्ययोजनाबारे विस्तृत जानकारी जिल्लाका सबै तहका पार्टी, कमिटीहरुलाई दिने काम केन्द्रीय टोलीले गर्नेछ ।

जनताको माझ राप्रपा कार्यक्रम अन्तर्गत:

(क) घरदैलो कार्यक्रम
(ख) पार्टी बुद्धिजीवी अन्र्तक्रिया कार्यक्रम
(ग) महिला जागरण कार्यक्रम
(घ) युवा विद्यार्थी उत्सव तथा जागरण कार्यक्रम
(ङ) कृषक भेला कार्यक्रम गरिनेछ ।

यसैगरी राप्रपाले स्थानीय तह निर्वाचन कार्ययोजना समेत तर्जुमा गरी मुलुकभरिका ७४४ वटा स्थानीय तह–महानगरपालिका, उप महानगरपालिका, नगरपालिका, गाउँपालिका र सो अन्र्तगतका राप्रपा वडा कार्यसमितिहरुलाई उपलब्ध गराउने भएको छ । सो कार्ययोजना अन्तर्गत केन्द्रीय निर्वाचन परिचालन समिति गठन, जिल्ला निर्वाचन परिचालन समिति गठन, गाउँपालिका तथा नगरपालिका निर्वाचन परिचालन समिति गठन गरिनेछ ।

सो समितिहरुले उम्मेदवारको छनौट, निर्वाचन प्रचार–प्रसार अभियान, समिकरण तथा तालमेलको सम्भावना अध्ययन, प्रशिक्षण कार्यक्रम र स्थानीय तह निर्वाचनको लागि घोषणा–पत्र तयार समेत गर्नेछ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रले स्थानीय तह निर्वाचनलाई दृष्टिगत गरि पार्टीको घोषणा पत्र तयार गर्नेछ । सो घोषणा पत्र ७४४ वटा स्थानीय तह पार्टी कार्यसमितिहरुलाई उपलब्ध गराईने कुरा राप्रपा केन्द्रीय सचिवालयले जानकारी दिएको छ । साथै ७५ वटै जिल्लामा जाने केन्द्रीय नेता, पदाधिकारी एवं सदस्यहरुलाई जिल्ला–जिल्लामा जानको लागि आजै पार्टीले निर्देशन समेत दिएको छ ।