
टीकापुर, २ चैत । कैलालीको टीकापुर घटनामा ज्यान गुमाएका नेपाल प्रहरीका हवल्दार ललित साउदका पिता नरबहादुर एमालेमा प्रवेश गरेका छन् ।
मेची महाकाली अभियान अन्तर्गत बुधबार टीकापुरमा आयोजित एमालेको विशाल जनसभामा साउद पार्टी प्रवेश गरेका हुन् ।
नरबहादुरसँगै टीकापुर घटनामा ज्यान गुमाएका १८ महिने नाबालक टेकबहादुर साउदका हजुरबा जंगबहादुर साउदसमेत एमाले प्रवेश गरे । दुबै जनालाई एमाले वरिष्ठ नेताद्धय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल लगायतले टिका र खाँदा लगाएर पार्टीमा स्वागत गरे ।

कार्यक्रममा नाबालक टेकबहादुरका हजुरबा जङ्गबहादुर एमालेको झण्डासहित कार्यक्रम स्थलमा देखिएपछि सबै भाबुक बनेका थिए । दुबै जना एमाले प्रवेश गर्दा मञ्चमा उपस्थित नेताहरु समेत भावुक बनेका थिए ।
गत वर्ष भदौ ७ गते टीकापुरमा थारू समुदायको आन्दोलनका क्रममा हिंसा भड्किदा नेपाल प्रहरीका एसएसपीसहित ७ सुरक्षाकर्मी र एक नाबालकको ज्यान गएको थियो ।











प्रतिक्रिया