दाङ, २ चैत । अब हुने स्थानिय तहको निर्वाचनका लागी दाङमा यस वर्ष थप ५३ हजार २ सय ४ जनाले मतदाता नामावलीको परिचयपत्र लिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
२०७० सालको संविधान सभाको निर्वाचनका बेला २ लाख ३८ हजार ७ सय ३७ जनाले मतदाता नामावलीको परिचय पत्र लिएको दाङमा यो संख्या अहिले २ लाख ९१ हजार ९ सय ४१ पुगेको कार्यालयले जनाएको छ । २०७३ साल फागुन ९ गते सम्म कार्यालयले सञ्चालन गरेको नियमित र घुम्ती शिविर प्रक्रियाबाट मतदाता नामावलीको परिचय पत्र लिनेको संख्या यति रहेको निर्वाचन अधिकारी बिजय कार्किले जानकारी दिनुभएको छ ।
जस अन्र्तगत महिला मतदाताको संख्या १ लाख ४८ हजार २ सय ३१ जना, पुरुष मतदाताको संख्या १ लाख ४३ हजार ७ सय ८ जना र तेस्रो लिङ्गी मतदाताको संख्या २ जना रहेको अधिकारी कार्कीले बताउनुभयो । दाङबाट यहि संख्यालाई अन्तिम नामावलीका रुपमा निर्वाचन आयोगमा पठाइएको भएपनि आयोगबाट यो संख्यामा केहि फेरबदल हुन सक्ने निर्वाचन अधिकारी कार्कीले बताउनुभयो ।
सरकारले स्थानीय तहको चुनावको मिति घोषणा गरेपछि जिल्ला निर्वाचन कार्यालय दाङले आफ्नो काम थालेको छ । स्थानीय तहको चुनावी अभियान चलिरहेका बेला दाङमा २७ दलले निर्वाचन कार्यालयमा दल दर्ता गराएका छन् । गत माघ १७ गते सम्ममा सबै ठूला÷साना दलहरु गरी जम्मा २७ दलले दर्ता गरिसकेको निर्वाचन कार्यालय निर्वाचन अधिकारी कार्कीले जानकारी दिनुभयो ।
यसैबीच कार्कीले दाङमा कतिवटा मतदान केन्द्र हुने र कहाँ कहाँ हुने भन्ने कुरा भने भोलि मात्रै निर्णय गरिने जानकारी दिनुभएको छ ।













प्रतिक्रिया