काठमाडौं, २ चैत । झापाबाट शुरु भएको एमालेको मेची–महाकाली राष्ट्रिय अभियान विभिन्न जिल्ला हुँदै आज बर्दिया जिल्ला पुगेको छ ।
बर्दियाको राजापुरमा आज आमसभा हुनेछ । एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार बर्दियाको राजापुर र कैलालीको टीकापुरमा आमसभा हुनेछ । टीकापुरको आमसभापछि एमालेको अभियानमा सहभागी नेता तथा कार्यकर्ताको बास लम्कीमा हुने श्रेष्ठले बताए ।
राजापुरतिर प्रस्थान गर्नु अघि गुलरियामा एमालेका नेता तथा कार्यकर्ताका लागि खानाको व्यवस्था गरिएको छ । खाना खाएर अभियानमा सहभागी टोली नौ बजे राजापुर प्रस्थान गर्ने श्रेष्ठले बताए ।
दुबै आमसभाहरूलाई एमालेका शीर्ष नेताले सम्बोधन गर्ने छन् । राष्ट्रियता कमजोर भएको भन्दै एमालेले फागुन २१ गतेदेखि झापाको काँकडभिट्टबाट अभियान शुरु गरेको थियो ।
सप्तरीसम्म आइपुग्दा अभियानलाई मधेसी मोर्चाका कार्यकर्ताले विथोल्ने प्रयास गरेपछि भएको प्रहरी–मोर्चाका कार्यकर्ता बीचको झडपमा चार जनाको ज्यान गएको थियो । त्यसपछि तीन दिनका लागि एमालेको अभियान रोकिएको थियो ।
पुनः हेटौँडाबाट शुरु भएको एमालेको राष्ट्रिय अभियानमा समर्थकहरूको अपार समर्थन देखिएको एमालेका नेताहरूले दाबी गर्दै आएका छन् ।
यसअघि मंगलबार बाँकेमा विशेष कार्यक्रम गरेको एमालेलाई नेपालगञ्जमा मधेसी मोर्चाका कार्यकर्ताले अबरोधको प्रयास गरेका थिए । प्रहरी र मधेसी मोर्चाका कार्यकर्ताबीच झडप भए पनि अप्रिय घटना भने हुन पाएको थिएन ।
एमालेको मेची–महाकाली राष्ट्रिय अभियान सुर्खेतमा समापन हुनेछ ।











प्रतिक्रिया