काठमाडौं, २ चैत । आफ्ना माग पूरा हुन नसकेको भन्दै रिसाएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलनका कार्यक्रम घोषणा गर्न आज बैठक बोलाएको छ ।
काठमाडौंको बिजुलीबजारस्थित तराई मधेस लोकतान्त्रिक पार्टीको मुख्यालयमा दिउँसो दुई बजेपछि बस्ने बैठकमा सरकारलाई दिएको समर्थन फिर्तापछिको अवस्था, संघर्षका कार्यक्रम र अन्य विविध विषयमा छलफल हुनेछ ।
विशेष गरेर सप्तरी घटनामा चार जनाको मृत्यु भएपछि रिसाएका मधेस केन्द्रित दलका नेताहरूले सरकारलाई दिएको समर्थन फिर्ता लिने अल्टिमेटम दिइएको थियो ।
राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले सरकारले तोकिएको समयसीमाभित्र माग पूरा नगरेकाले सरकारलाई दिएको समर्थन स्वतः फिर्ता भएको बताए । अब कसरी अगाडि बढ्ने भनेर छलफल गर्न मधेसी मोर्चाको बैठक आह्वान गरिएको उनले बताए ।
मधेसी मोर्चाको आजको बैठकले दोस्रो तहका नेताहरू सम्मिलित सचिवालयले तयार पारेको संघर्षका कार्यक्रमका विषयमा छलफल गर्नेछ । साथै सचिवालयले तयार पारेको कार्यक्रमलाई नै छलफल गरेर आन्दोलन घोषणा हुनेछ ।











प्रतिक्रिया