१ कार्तिक २०८३, आइतबार

कांग्रेसलाई ठूलो झट्काः २०३६ सालदेखि सक्रिय नेता पन्तले पार्टी छाडे (विज्ञप्तिसहित)

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ चैत । नेपाली कांग्रेसका एक जना क्षेत्रीय नेताले पार्टी परित्याग गरेका छन् ।

२०३६ सालदेखि पार्टीमा सक्रिय बलराम पन्तले सोमबार विज्ञप्ति जारी गर्दै कांग्रेस पार्टी परित्यागको घोषणा गरेका हुन् । कांग्रेसका संस्थापक नेता विपी कोइरालाको सिद्धान्त बोकेका उद्योगपति पन्त कञ्चनपुरमा इमान्दार र स्वच्छ छविका नेताका रुपमा चिनिन्छन् । उनी कृष्णपुर नगरपालिकाका बासिन्दा हुन् ।

उनले अब कुन पार्टीमा जाने अथवा राजनीतिबाटै सन्यास लिने भन्नेबारे अझै निर्णय लिन सकेका छैनन् । पन्तले पार्टी छाडेपछि कांग्रेसमा खैलाबैला भएको छ । धेरैले हतारको निर्णय भनेर प्रतिक्रिया दिएका छन् भने केही ठिक गरेको भनेका छन् ।

किन छाडे पार्टी ?

पार्टीभित्र नातावाद, कृपावाद हाबी भएको र आफूले काम गर्ने अवसर नपाएको भन्दै पन्तले पार्टी छाडेका हुन् । ‘मेरो कुनै मुल्यांकन नगरी पार्टीभित्र सधै नातावाद, कृपावाद, पूर्वाग्रह, पक्षपात गरी मलाई पाखा लगाई आ आफ्ना नातागोता, इष्टमित्र एवं नजिकका मान्छेहरुलाई काखी च्यापी अवसर दिने प्रवृति हावी भएको र मेरो काम गर्ने इच्छा जाहेर गर्दा समेत मलाई वेवास्ता गरेकाले पार्टी परित्याग गर्न बाध्य भएको छु,’ पन्तद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

कांग्रेसलाई के घाटा हुन्छ ?

पन्त कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर दुईमा प्रभाव राख्ने नेता हुन् । क्षेत्र नम्बर दुईमा हालसम्म कांग्रेसले जित्दै आएको छ । अहिले त्यहाँबाट कांग्रेस सभापति शेरबहादुर देउवाका ‘दाहिने हात’ एनपी साउद निर्वाचित सांसद हुन् । उनी त्यही क्षेत्रबाट जितेर सिंचाई मन्त्री समेत भइसकेका छन् । अब स्थानीय निर्वाचन आउँदैछ । पन्तले पार्टी परित्याग गरेको अवस्थामा यो निर्वाचनमा कांग्रेसलाई निकै क्षति हुने जानकारहरु बताउँछन् । र, देउवाका ‘दाहिने हात’ एनपी साउदलाई पनि ठूलो असर पर्नसक्ने आंकलन गरिएको छ ।

को हुन् पन्त ?

कांग्रेस सभापति देउवाको गृहजिल्ला डडेल्धुरा पुख्र्यौली घर भएका पन्त २०३६ सालदेखि कांग्रेस पार्टीमा सक्रिय छन् । विपीको समाजवाद सिद्धान्तबाट प्रभावित भइ उनी राजनीतिमा होमिएका थिए । राजनीतिज्ञसँगै पन्त शिक्षक, उद्योगपति पनि हुन् । सामाजिक कार्यमा पनि पन्त सक्रिय छन् ।

उनले विज्ञप्तिमा उल्लेख गरेका छन्ः

२०३६ सालको जनमतसंग्रहदेखि नेपाली जनताको मुक्तिको अभियानमा नेपाली कांग्रेसको सिपाही भई दिनरात देशमा प्रजातन्त्र स्थापनाका लागि संघर्ष गर्दै २०४६ सालको जनआन्दोलनमा समेत सक्रिय रुपमा पार्टीको सदस्यको रुपमा मुक्तिगामी आन्दोलनमा आफ्नो खुन पसिना बगाई प्रजातन्त्र स्थापनामा आफ्नो उपस्थिती देखाउँदै २०४८ सालदेखि नेपाली कांग्रेसको क्रियाशिल सदस्यता लिई हालसम्म पार्टी एवं विविध संगठनमा बसी इमान्दारीपूर्वक प्रतिकुल समयमा समेत पार्टी संगठन बनाउनका लागि ज्यानको बाजी लगाएर काम गर्दा समेत मेरो कुनै मुल्यांकन नगरी पार्टीभित्र सधै नातावाद, कृपावाद, पूर्वाग्रह, पक्षपात गरी मलाई पाखा लगाई आ आफ्ना नातागोता, इष्टमित्र एवं नजिकका मान्छेहरुलाई काखी च्यापी अवसर दिने प्रवृति हावी भएको र मेरो काम गर्ने इच्छा जाहेर गर्दा समेत मलाई वेवास्ता गरेको हुँदा पार्टी एवं पार्टीका नेतृत्वहरु नेपाली कांग्रेसको सिद्धान्तविपरित दासमनोवृति देखापरेको हुँदा पार्टीमा विपी कोइरालाको प्रजातान्त्रिक समाजवाद समाप्त भएको हुँदा आजैका मितिदेखि नेपाली कांग्रेसको साधारण सदस्यता समेत नरहनेगरी पार्टी परित्याग गरेको ब्यहोरा जानकारी गराउछु ।

हेर्नुस् विज्ञप्तिः