असोज ८, काठमाडौं । ‘मेरो स्थान, मेरो धर्ती, मेरो उत्तरदायित्व’ भन्ने मूल नाराकासाथ सरसफाई दिवस सप्ताह नेपालमा पनि विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ ।
फोहरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रको अगुवाईमा भएको उक्त कार्यक्रममा केन्द्रले यही सन्र्दभ पारेर एक हप्ताभरी सार्वजनिक स्थानमा फालिएको फोहरमैला उठाउने र जनचेतना जगाउने लगाएतका कार्यक्रम गरेको केन्द्रले जानकारी दिएको छ ।
बाग्मती सरसफाई गर्ने, नयाँबजारस्थित म्हैपी मन्दिर परिसरमा फोहर–मैलाव्यवसथापनको लागि नमूनाको रुपमा कम्पोष्टवीन उद्घाटन गर्ने जस्ता कार्य सम्पन्न गरेको केन्द्रकी निर्देशक डा. सुमित्रा अमात्यले जानकारी दिनुभयो ।
विभिन्न कार्यक्रममा पूर्व विज्ञान तथा वातावरण मन्त्री गणेश साह, नेपाल सरकारका मुख्य सचिव लिलामणी पौडेललगाएतको पनि उपस्थिति रहेको थियो ।
निर्देशक डा. अमात्यकै अगुवाईमा केन्द्रका कर्मचारीसहित विभिन्न संघ–संस्थाबाट जम्मा भएका सरसफाई अभियन्ताहरुले केही दिन अघि पाटन संयुक्त क्याम्पसको गेट अगाडि थुपारिएको करिब ४० टन फोहर हातले उठाएका थिए ।
अमात्यले यस्ता कार्यको सुरुवात संस्कार बदल्नका लागि गरेको बताउनुभयो । उहाँले फोहरलाई न्यूनिकरण र पुनःप्रयोग गर्दै घरघरबाटै कम निश्कासन गर्ने कार्यको लागि टोल टोलमा कम्पोष्ट वीनको प्रवद्र्धन गरिरहेको पनि बताउनुभयो ।
त्यसैगरी केन्द्रको अगुवाईमा भएको उक्त कार्यक्रममा सहरी विकास मन्त्रालयका सचिव अर्जुनबहादुर कार्की, पूर्व सचिव कृष्णहरी बाँस्कोट, विभिन्न आमा समूहका प्रतिनिधिहरुसहित देशका १ सय भन्दा बढी संघ–संस्थाको सहभागिता रहेको थियो ।
केन्द्रले दिएको जानकारी अनुसार झण्डै दश हजार स्वयंसेवक परिचालित भएका थिए ।
वातावरणमा परेको प्रतिकूल प्रभावलाई कम गर्न संयुक्त राष्टसंघले १९९३ देखि हरेक वर्ष सेप्टेम्वर तेस्रो हप्तामा यो दिवस विश्वभरि नै मनाउँदै आएको छ । हालसम्म विश्वका १ सय २० ओटा राष्ट्रहरुमा सेप्टेम्वर तेश्रो हप्ता सरसफाई अभियान सञ्चालन हुँदै आएको छ ।


















प्रतिक्रिया