काठमाडौं, २७ फागुन । मधेसी मोर्चासहितका दलहरू आबद्ध संघीय गठबन्धनले आह्वान गरेको नेपाल बन्दका क्रममा जबरजस्ती अबरोध गर्न खोज्ने नेता तथा कार्यकर्ताहरूलाई प्रहरी विभिन्न स्थानबाट गिरफ्तार गरेको छ ।
राजधानीका विभिन्न स्थानीमा एकाबिहानै बन्द गराउन सडकमा उत्रिएका गठबन्धनका थुप्रै नेता तथा कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो । बन्दलाई ध्यानमा राखेर स्थानीय प्रशासनले सुरक्षा निकायको बाक्लो उपस्थित गराएको छ ।
संघीय गठबन्धनले सप्तरीमा चार जनाको ज्यान जाने गरी भएको घटनाको बिरोधमा नेपाल बन्द आह्वान गरेको छ । महानगरीय ट्राफिक प्रहरी रामशहापथले राजधानीभित्र बन्दको कुनै प्रभाव नपरेको जनाएको छ ।
तराईका जिल्लामा भने बन्दको प्रभाव अलि धेरै परेको गठबन्धनका नेताहरूले दाबी गरेका छन् ।
गठबन्धनका प्रवक्ता एवम् जनजाति नेता ओम गुरुङले नेपाल बन्दका क्रममा प्रहरी प्रशासनले अत्यधिक बल प्रयोग गरेको आरोप लगाएका छन् । उनले काठमाडौंका बिभिन्न क्षेत्रबाट थुप्रै बन्दकर्ताहरूलाई नियन्त्रणमा लिएको दाबी गरे ।
प्रवक्ता गुरुङका अनुसार बल्खुबाट आदिबासी जनजाति पार्टीका अध्यक्ष तामाङ, बुद्धिराज स्याङतान, महारागञ्जबाट तामाङग घेदुङका अध्यक्ष मेहन गोले, ताम्सालिङ संयुक्त संघर्ष समितिका संयोजक जय गोलेलगायतका नेता कार्यकर्ता पक्राउ परेका छन् ।
ललितपुरको सातदोबाटोबाट संघीय लिम्बुवान राष्ट्रिय मञ्चका नेता दीपा आङदाम्बेसहितका नेता तथा कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।











प्रतिक्रिया