१ कार्तिक २०८३, आइतबार

कोरियामा रहेका युवाद्वारा पाँचथरको विद्यालयलाई कम्प्युटर प्रदान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– कृष्ण ओझा

पाँचथर, २२ फागुन । पाँचथर सुभाङ गाविसको एक आधारभूत विद्यालयलाई वैदेशिक रोजगारीमा रहेका युवाहरुले ७ थान कम्प्युटर हस्तान्तरण गरेका छन् ।

रोजगारीको सिलसिलामा दक्षिण कोरियामा रहेका जिल्लाका विभिन्न गाविस का १८ जना युवाहरुले कमजोर आर्थिक तथा भौतिक अवस्थाको सुभाङ–९ गाँउसाराको भाग्योदय आधारभूत विद्यालयलाई ३ लाख ३० हजार रुपैँया बराबरको कम्प्युटर, प्रिन्टर लगायत सामग्री प्रदान गरेका हुन् ।

विद्यालयमा अध्ययनरत विद्यार्थीहरु ‘अनलाइन शिक्षा’मार्फत युग अनुकुल शिक्षा लिन सक्षम बनाउने उद्देश्य सहित सामग्री प्रदान गरिएको दक्षिण कोरियामा रहेका युवाहरुका प्रतिनिधि चन्द्र कुविर लिङ्देनले वताए ।

शनिवार विद्यालयमा आयोजित सामग्री हस्तान्तरण कार्यक्रममा लिङ्देनले विद्यालय व्यवस्थापन समिति अध्यक्ष हरिप्रसाद मैनाली र प्रधानाध्यापक वीरेन सुहाङलाई ७ थान ब्रान्डेड कम्प्युटर, प्रदान गरे । साथै एउटा सीसीक्यामेरा, एउटा प्रिन्टर, एउटा स्टेपलाइजर र ४ थान मल्टिप्लग हस्तान्तरण गरे ।

सामग्री खरिदका लागि दक्षिण कोरियामा रहेका पञ्चमीका लिङ्देन सहित पञ्चमीकै सरोज योङहाङ, डम्बरसिंह लिङ्देन, प्रदीप राई, मणिकुमार लिङ्देन, मचिन्द्र योङहाङ र पारस लिङ्देन, सुभाङका तुलसीप्रसाद मैनाली, डम्बर सुहाङ, राजकुमार श्रेष्ठ, अर्जुन श्रेष्ठ, गोपालबयलकोटी, लक्ष्मी योङहाङ, दिलकुमार खुदाङ, मेमेङका रामलावती र नागीका किरण योङहाङले एकतीस लाख ५० हजार वन संकलन गरेका थिए ।

यस्तै मलेसियामा रहेका सुभाङका जहरमान सुहाङ र सुजन सुहाङले समेत सामग्रीखरिदमा सहयोग गरेका थिए ।

कम्प्युटर लगायत सामग्री हस्तान्तरण गर्दै लिङ्देनले युवाहरुलाई एकीकृत गरेर शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी गर्ने योजना बनाइएको र यसैको सुरुवात स्वरुप सो सामग्री प्रदान गरिएको वताए ।

युवाहरुलाई सामाजिकतथा शैक्षिक क्षेत्रमा योगदानगर्न आफूले उत्प्रेरित गरिरहेको लिङ्देनले वताए ।

उनले प्रदान गरिएका सामग्रीको उचित सदुपयोग गर्न र विद्यार्थीहरुले कम्प्युटर सिक्ने वातावरण सिर्जना गर्न अभिभावक तथा सरोकारवालाहरुसँग आग्रह गरे ।

लिङ्देनले जिल्ला शिक्षा कार्यालय, स्थानीय निकाय, विद्यालय र अभिभावकहरुले कम्प्युटरको सदुपयोग गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा जिल्ला शिक्षा अधिकारी राजकुमार विक, गाविस सचिव लक्ष्मीप्रसाद बाँस्कोटासहित राजनीतिक दलका प्रतिनिधिहरु, संघ संस्था तथा विद्यालयका प्रतिनिधिहरु लगायतको सहभागिता थियो ।

कार्यक्रममा युवाका परिवारजन तथा जग्गादाताहरु नरमाया सुहाङ र लक्ष्मीप्रसाद सुहाङलाई जिशिअ राजकुमार विकले सम्मान गरे ।

२०५४ सालमा स्थापित उक्त विद्यालयमा हालसम्म एक जनापनि दरबन्दीका शिक्षक छैनन् ।
हाल ३ जना राहत दरबन्दीका शिक्षकहरु र २ विद्यालयको निजी स्रोतमा आश्रित शिक्षकहरुले विद्यालय सञ्चालन गरिरहेको प्रधानाध्यापक वीरेन सुहाङले वताए ।

उनले शिक्षकहरु कम्प्युटर शिक्षामा दक्ष नरहेकाले कम्प्युटर शिक्षकको व्यवस्था पनि गरिदिन जिल्ला शिक्षा कार्यालयसँग माग समेत गरे ।