२ कार्तिक २०८३, सोमबार

‘माङखिम’ माथि इलाममा विमर्श

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

इलाम । किरात भाषामा ‘माङ’को अर्थ पूर्खा र ‘खिम’को अर्थ घर हुन्छ । उसरी बुझ्दा ‘पुर्खाको घर’ । तर, नेपालीमा नभई किरात भाषामै चर्चित बन्दैछ ‘माङखिम’ । कवि तथा साहित्यकार सचित राईद्वारा लिखित माङखिम निबन्ध संग्रह अहिले बजारमा आएको छ ।

विशेष गरी इलाम र इलामे परिवेशलाई समेटिएको यस निबन्ध संग्रहमा लेखक राई आफू पत्रकार हुँदादेखि आफूले भोगेका कुराहरुदेखि बाहिरबाट इलाम भित्रने पर्यटकहरुलाई इलाममा गरिने अतिथि सत्कारका कुरासम्मलाई राईले समेट्ने प्रयास गरेका छन् ।

शनिबार इलाममा आयोजित उनकै कृति माङखिमको विमर्श विषयक कार्यक्रममा पनि यस पुस्तकमा समेटिएका विषय वस्तुहरुको चर्चा गरिएको छ । महेन्द्र–रत्न बहुमुखी क्याम्पसका प्राध्यापक मोहनसिंह थेवे र डा. देवी क्षेत्री दुलालले यो कृतिमाथि समीक्षा गरेका थिए ।

माङखिममा रामप्रसादको रामकहानी, त्यसबेलाका रत्न, सुन्तला बारीमा बुढीआमा, फलामसिंहको फैलावट, धर्मगुरुको गाउँ, शाकाहारी माङमालुङ, पानी ढलोको बाटो, छापामारलाई बयान, पाँच हजारको यात्रा, अरुणमा एक विहान, दशैंको लडाईं, जबरजस्त पत्रकारिता, पत्रकारिताको गाँठो फुकाउँदा, कोशी बौलाएको बेला, आमा बिनाको घर र घरको पिङ गरेर १६ वटा रचना समेटिएको छ ।

२००७ सालमा भोजपुरबाट क्रान्तिको नेतृत्व गर्ने रामप्रसादलाई लेखक राईले रामप्रसादको रामकहानी नाम दिएर समेटेका छन् । यस्तै शहीद रत्नकुमार वान्तवाका बारेमा राईले लेखेका छन् । रत्नकुमार वान्तवाका जीवनी, पारिवारिक अवस्थाका बारेमा पनि लेखक राईले त्यसबेलाका रत्नमा सम्झिएका छन् ।

यस्तै सुन्तलाबारीकी बुढी आमा भनेर नेपाली महिला आन्दोलनको नेतृत्व गर्ने सरस्वती राईको विषयलाई पनि उठान गरेका छन् । राईले आफूले पत्रकारिता गरेका बखत चर्किएको द्वन्द्वको विषयमा पत्रकारहरुमाथि भएका व्यवहारका विषय पनि समेटेका छन् ।

पुस्तकमाथि टिप्पणी गर्दै प्राध्यापक थेवेले खोज र अनुसन्धानमूलक रचना भएको धारणा राखेका थिए । यस्तै डा. दुलालले यो रचनाले अतितको उत्खनन् र गहकिलो विश्लेषण रहेको धाराणा राखे । उनले यो अध्ययनको हिसाबमा उत्कृष्ट र कालजयी रहेकाले समाज रुपान्तरण गर्ने लेखकको केन्द्रीय

दृष्टिकोण अत्यन्तै शक्तिशाली रहेको दुलालले बताए । यसै सन्र्दभमा डा. दुलालले प्रथम रत्न वान्तवा स्मृति पुरस्कार ‘माङखिम’ लाई दिने घोषणा गरेका छन् ।