काठमाडौं । कवियत्री गीता भेटुवाल गौतमद्धारा लिखित ‘राष्ट्रकवि भेट्दा’ लघुकाव्य विमोचन गरिएको छ ।
शनिबार रिपोर्टर्स क्लब नेपालमा आयोजित कार्यक्रममा उक्त लघुकाव्यको संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवन बहादुर शाही र राष्ट्रकवि माधव प्रसाद घिमिरेले संयूक्त रुपमा बिमोचन गर्नुभएको छ ।
मन्त्री शाहीले कवियत्री गौतम विदेशमा रहँदापनि राष्ट्रप्रतिको मायामा डुबेकी बताउँदै भन्नुभयो, ‘उहाँले देश छोडेर परदेशमा बस्दापनि देशको बारेमा चिन्ता गरेर कृतिहरु लेख्नुभएको रहेछ, यो कुरा थाहा पाउँदा म निकै खुशी छु ।’ शाहीले कविता, साहित्य र कृतिहरु संसारभरि नै फैलने बताउँदै कवियत्री गौतमले पनि सात समुन्द्रपारि हुँदापनि देशको माया गरेर कृतिहरु ल्याएको देख्न पाउँदा आफू हर्षित भएको बताउनुभयो ।
त्यस्तै उहाँले कवियत्री गौतमले राष्ट्रकवि घिमिरेको बारेमा भेट्दाका कुराहरुलाई लघुकाव्यको रुपमा ल्याउनुभएको बताउँदै भन्नुभयो, ‘यहाँ कस्तो छ भने, ज्यूँदो हुँदा कसैलेपनि प्रशंसा गर्दैनन्, मरेपछि मात्रै प्रशंसा गर्ने चलन छ, तर कवियत्री गौतमले राष्ट्रकविको बारेमा आफ्नो मनमा लागेको कुराहरु लेखेर कृत्रि ल्याउनुभयो, यो अत्यन्तै सकारात्मक कुरा हो, यसको सबैले प्रशंसा गर्नुपर्छ ।’
उहाँले कवियत्री गौतमलाई अन्य स्रष्टाहरुले आँशुकविको संज्ञा दिएको उल्लेख गर्दै भन्नुभयो, ‘बास्तवमा उहाँले राष्ट्रकविलाई भेट्दा आफ्ना भावनाहरुलाई कवितामार्फत उतार्नुभयो, उहाँले घिमिरेज्यूलाई भेट्ने वित्तिकै लघुकाव्य नै लेख्नुभयो, उहाँ अत्यन्तै प्र्रशंनीय पात्र बन्नुभएको छ ।’
उहाँले आफूलेपनि आजै पहिलोपटक राष्ट्रकविलाई भेट्न पाएको बताउँदै यो अवसर सिर्जना गरिदिएको पत्रकार ऋषि धमलालाई धन्यवाद दिनुभयो ।
मन्त्री शाहीले भन्नुभयो, ‘मैलेपनि राष्ट्रकविलाई आजै पहिलोपटक प्रत्यक्ष रुपमा भेटेको हुँ, संयोग कस्तो हो भने राष्ट्रकविलाई भेट्दा भन्ने कृति विमोचन गर्ने बेलामा मैलेपनि भेट्ने मौका पाएँ, यो मेरो लागि सौभाग्य हो ।’
उहाँले राष्ट्रकवि ९८ वर्ष पुग्दापनि नथाकीकन महाकाव्य लेखनमा रहनुभएको कुराबाट सबैले पाठ सिक्नुपर्ने बताउनुभयो । शाहीले भन्नुभयो, ‘म भर्खरै ४८ वर्ष भएँ, अहिलेदेखि नै अल्छी लागेजस्तो भएको छ, उहाँलाई देखेपछि अब हामी सबैले अल्छी त्याग्नुपर्छ ।’
मन्त्री शाहीले राष्ट्रकवी घिमिरे सबै नेपालीहरुको प्रेरणाको स्रोत भएको बताउँदै भन्नुभयो, ‘उहाँ अहिले ९८ वर्ष पुग्नुभयो, तर राष्ट्रको लागि उहाँ अहिलेपनि महाकाव्य लैख्दै हुनुहुन्छ, एक मुठी श्वाँस र एक थोपा रगत बाँकी रहँदापनि देशको लागि केही गर्नुपर्छ भन्ने प्रेरणा उहाँबाट पाएका छौं ।’
विमोचन समारोहमा बोल्दै राष्ट्रकवि माधव प्रसाद घिमिरेले कवियत्री गौतम विदेशमा रहँदापनि साहित्य सिर्जनामार्फत नेपालको शीर ठाडो बनाउने काममा लाग्नुभएको भन्दै आगामी दिनमा समेत लेखन कार्यलाई निरन्तरता दिन सुझाव दिनुभयो ।
घिमिरले नेपाल प्राकृतिक सुन्दरताको धनी देश भएको उल्लेख गर्दै भन्नुभयो, ‘नेपाली हामी रहौंला कहाँ? नेपाललै नरहे?, आफ्नो देशलाई छोडेर कर्मको लागि परदेशमा गएकी गीता गौतमको मन भने स्वदेशमै छ, गौतमको मनमा सँधै नेपाल नै रहेको पाएँ, उनी विवशताले क्यानडमा छिन्, तर उनको मन नेपालमा छ ।’
राष्ट्रकवि घिमिरेले कवियत्री गौतमले क्यानडा गएपनि नेपालीपनलाई नछोडेको देख्दा आफूलाई निकै खुशी लागेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘कवियत्री गौतमले लोकभाकाका शब्दहरु प्रयोग गरेकी छिन्, ठेट नेपाली शब्दलाई प्रयोग गरेकी छिन्, विदेशमा बस्नुपर्दाको नराम्रोपनलाई हृदयदेखि नै उनले भक्कानिएर पोखेकी छिन् ।’ घिमिरले गौतम मात्रै नभएर विदेशमा बस्ने अन्य साहित्य स्रष्टाहरुको पनि मन नेपालमै रहेको बताउनुभयो ।


















प्रतिक्रिया