बग्दाद, ६ असोज । इस्लामिक स्टेट समूहले जिहादीविरोधी अमेरिकी नेतृत्वमा भाग लिने सबै मुलुकका नागरिकको कुनै पनि उपायले हत्या गर्न मुसलमानहरूलाई आग्रह गरेका छन् ।
समूहका प्रवक्ता अबु मोहम्मद अल अदनानीले उक्त विज्ञप्तिमा मुसलमानहरूलाई उनीहरूले इस्लामिक स्टेटको विरोधमा गठबन्धमा प्रवेश गरेका मुलुकका नागरिकसहित विशेषगरी फ्रान्सेली, अस्ट्रेलियाली, क्यानडाली वा अन्य कुनै नास्तिक अमेरिकी वा युरोपेली नागरिकको हत्या गर्न सकिने भए अल्लाहको भरपरि हत्या गर्न आग्रह गरेका छन् ।
उनले विभिन्न भाषामा सन्देश प्रकाशन गरी नास्तिक नागरिक वा सैनिक जे भएपनि उनीहरूको हत्या गर्न आग्रह गरेका छन् ।
अमेरिका तथा फ्रान्सले इराकमा आईएसको लक्ष्यमा हवाई आक्रमण गरिरहेका छन् । साथै उनीहरूले यो समूहलाई विश्वव्यापी चुनौतीको रूपमा लिई उनीहरूविरुद्ध अन्तर्राष्ट्रिय गठबन्धन बनाउन प्रयास गरिरहेका छन् ।
अमेरिकी विदेशमन्त्री जन केरीले इजिप्ट तथा अरब राज्यहरू गरी ५० भन्दा बढी मुलुकले यस गठबन्धनको भाग हुने बचन दिँदै आगाडि आएको बताए ।
जिहादी समूहले भने इराक तथा सिरियाको व्यापक भागमा आफ्नो नियन्त्रण कायम गरी त्यहाँ खलिफात घोषणा गरेका छन् ।
आईएसले सयौँ इराकी तथा सिरियाली नागरिकका साथमा विदेशी बन्धकहरूको हत्या गरेका छन् । उनीहरूको क्रूर अभियानका कारण दशौँ लाख जनता उनीहरूको घरबाट भाग्न बाध्य भएका छन् ।
अदनानीको श्रव्य सन्देश अरबी भाषामा इन्टरनेटमा राखिएको हो र त्यसलाई अङ्ग्रेजी सहित अन्य भाषामा अनुवाद गरिएको छ । सन्देशमा हतियार उपकरण नभए पनि ढुङ्गा, चक्कु वा गाडीले कुल्चेर कसरी मानिस मार्न सकिन्छ भन्ने उल्लेख गरिएको छ ।
पश्चिमी मुलुकका सयौँ नागरिकहरू हाल आईएसको पक्षमा युद्ध गरिरहेका छन् र उनीहरू आफ्नो घर फर्की यस्तो आक्रमण गर्नसक्ने आशङ्का गरिएको छ ।
सोमबार अस्ट्रेलियाली प्रधानमन्त्री टोनी एबोटले आतङ्कवादी समूहको पक्षमा युद्ध गरेका कुनै पनि नागरिक मुलुक फर्के निजलाई पक्राउ गरिने, कानुनी कारवाही गरिने तथा निकै लामो समयका लागि कारागारमा पठाइने चेतावनी दिनुभएको छ ।
अदनानीले इजिप्टको सिनाइ प्रायःद्वीपका लडाकूको प्रशंसा गर्दै राष्ट्रपति अब्देल फताह अल–सिसीको पक्षमा युद्ध गर्नेहरूको घाँटी काटिदिन आग्रह गरेका छन् । निजले ट्युनिसियाली नागरिकले पनि यी लडाकूसँग सिक्नुपर्ने बताएका छन् ।
यमनी नागरिकले सिया हुथी विद्रोहीलाई राजधानी सानामा प्रवेश गर्न दिएकोमा अदनानीले आलोचना गरेका छन् ।
उनले लिबियाका मुसलमानलाई एक हुन आह्वान गर्दै उनीहरूलाई सैतानले विभाजन गरेको दाबी गरेका छन् ।
अदनानीले आफूहरू नयाँ युगमा रहेको र त्यो युगमा स्लामिक स्टेट, उसका सैनिक तथा उसका पुत्रहरू दास नभइ नेता भएको दाबी गरेका छन् ।
उनले आफूहरूले अल्लाहको अनुमतिले रोम बिजय गर्ने, क्रिस्चियनको ‘क्रस’ भाँचिदिने, उनीहरूका महिलालाई दास बनाउने दाबी गरेका छन् । उनले आकाशमा बसेर युद्धको निर्णय गर्न नसकिने दाबी गरेका छन् र अमेरिका तथा उसका गठबन्धनलाई जमिनमा आउन चुनौती दिएका छन् ।
उनले अमेरिकी राष्ट्रपति बाराक ओबामालाई सम्बोधन गर्दै अमेरिका स्थलयुद्धमा झर्ने र नष्ट हुने दाबी गरेका छन् । रासस / एएफपी













प्रतिक्रिया