१ कार्तिक २०८३, आइतबार

औषधि आयातकर्ता संघको ओपनिङ गर्दै स्वास्थ्यमन्त्रीले भने- गुणस्तरमा ‘नो कम्प्रमाइज’

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ फागुन । स्वास्थ्यमन्त्री गगन थापाले गुणस्तरीय औषधि नागरिकको पहिलो अधिकार भएको बताएका छन् ।

भर्खरै स्थापना भएको नेपाल औषधि आयातकर्ता संघलाई औपचारिक रुपमा शुभारम्भ गर्दै मन्त्री थापाले गुणस्तरीय औषधि नागरिकको अधिकार भएकाले गुणस्तरमा कुनै सम्झौता हुनैनसक्ने बताए । ‘औषधिमा सम्झौता गर्न सकिन्न् । यो जीवनसँग जोडिएको छ,’ औषधि व्यवसायीहरुमाझ उनले भने- ‘गुणस्तर, सर्वसुलभ र सस्तो औषधि जनताले पाउनुपर्छ ।’

उनले गुणस्तरीय, सर्वसुलभ र जतिसक्यो सस्तो औषधि नागरिकसम्म पुर्याउने र सुनिश्चित गर्ने आफ्नो उद्देश्य रहेको भन्दै विरामी सहज सेवा दिन औषधि पसल २४ सैं घण्टा खुल्ला हुनुपर्नेमा जोड दिए । ‘मन लाग्यो खोल्ने, मन नलागे बन्द गर्ने औषधि पसलका हकमा त्यस्तो लागु हुँदैन्’ उनले भने- ‘नागरिकलाई कसरी सहज रुपमा औषधि उपलब्ध गराउने भन्नेबारेमा सोच्नुस् । त्यो २४ घण्टा पसल खोलेर हुन्छ कि वा विरामीले मागेको बेला उपलब्ध गराएर हुन्छ । त्यसमा मैले पनि प्रयास गरिरहेको छु । तपाईहरुको साथ चाहिन्छ ।’

उनले औषधि बाहिर देशबाट जुन मुल्यमा ल्याएको हो त्यही मूल्य नेपाली नागरिकले पाउनुपर्ने बताए । स्वास्थ्यमन्त्री थापाले भने- ‘भारत, बंगलादेश, स्वीजरल्याण्डलगायत देशबाट आउने औषधिको जून मूल्य छ त्यही मुल्यमा नेपालीले औषधि पाउनुपर्छ । फरक फरक मुल्य हुनुहुँदैन् ।’

औषधि व्यवसायीलाई संरक्षण र सहयोग गर्ने दायित्व स्वास्थ्य मन्त्रालयको हो भन्दै मन्त्री थापाले विना झन्झट व्यवसाय गर्ने वातावरण सरकारले सिर्जना गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा औषधि आयातकर्ता संघका महासचिव पवनराज आचार्यले स्वास्थ्य र औषधि व्यवस्था विभाग तथा औषधि व्यवसायीबीच सुमधुर सम्बन्ध हुनुपर्नेमा जोड दिए । ‘हामीबीचको सम्बन्ध सुमधुर हुनुपर्छ । तर, स्वास्थ्य विभागले हामीसँग सल्लाह नगरीकनै कार्यविधि जारी गरेको छ । यसमा हाम्रो असन्तुष्टि छ,’ उनले भने ।

महासचिव आचार्यले देश र जनताका लागि सर्वसुलभ, गुणस्तरीय र सस्तो औषधि दिने उद्देश्यका साथ नेपाल आयातकर्ता संघको स्थापना भएको जानकारी दिए ।

कार्यक्रममा भारत र बंगलादेश राजदूतावासका अधिकारी, औषधि व्यवसायी, चम्बर अफ कमर्सका पदाधिकारी लगायतको उपस्थिती रहेको थियो ।

औषधि आयातकर्ता संघमा को को छन् ?

नागरिकलाई सर्वसुलभ, गुणस्तरीय र सस्तो औषधि उपलब्ध गराउने उद्देश्यका अञ्जन पुडासैनीको अध्यक्षतामा स्थापना भएको औषधि आयातकर्ता संघको उपाध्यक्षमा शम्भु कार्की रहेका छन् । महासचिवमा पवन आचार्य, कोषाध्यक्षमा सुशान्त मुरारका रहेका छन् ।
संघको सदस्यमा पृथ्वीराज वैद्य, सुशील दाहाल, दिपनेमान श्रेष्ठ रहेका छन् ।