१ कार्तिक २०८३, शनिबार

पानीको अभावमा शौचालय प्रयोगविहीन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

jajarkot_district

जाजरकोट, ५ असोज । जाजरकोटका अधिकांश सामुदायिक विद्यालयका शौचालय पानीको अभावमा प्रयोगविहीन भएका छन् ।

विद्यालयमा पानी नहुँदा ग्रामीण क्षेत्रमा रहेका विद्यालयका शौचालय देखाउनलाई मात्र निर्माण गरिएको जस्तो भएको शिक्षकको भनाइ छ ।

खानेपानीको समेत सुविधा नभएको विद्यालयमा शौचालयमा हाल्ने पानी कहाँबाट पाउनु, पञ्चभयार मावि जिकुवाका विद्यार्थी सञ्जय खत्रीले दुखेसो पोख्नुभयो। यस ठाउँमा एक गाग्री पानी ल्याउन आधा घण्टा लाग्ने गरेको कारण थप समस्या आएको विद्यार्थीले बताएका छन् ।

पिउने पानी त घरबाट ल्याउनुपर्छ अनि कसरी शौचालयमा पानी प्रयोग गर्नु शिवशङ्कर उच्चमावि जगतिपुरका अटल आचार्यले पिरलो पोख्नुभयो । विद्यालयमा खानेपानीको धारा भए पनि पानी आउँदैन उहाँले थप्नुभयो ।

खोलामा पानी ल्याउन जाँदा र आउँदा आधा घण्टा बित्छ, आधा घण्टाभित्र पढाइ छुट्छ जानकी मावि मैदेका विद्यार्थी केशव कुसारी बताउनुहुन्छ ।

विद्यार्थीको काम विद्यालयमा आएर पानी बोक्ने नभई पढ्ने भएको भए पनि पानी बोक्नुपर्ने वाध्यता रहेकोप्रति विद्यार्थी इन्द्र नेपालीले दुःख व्यक्त गर्नुभयो ।

लाखौँ रुपैयाँ खर्च गरेर निर्माण गरिएका शौचालय प्रयोगविहीन हुँदा जाजरकोटलाई खुल्ला दिसामुक्त क्षेत्र घोषणाको कार्यक्रमसमेत प्रभावित भएको छ ।

‘विद्यालयमा शौचालय प्रयोगको अवस्था चिन्ताजनक भएको क्षेत्रीय सरसफाइ समन्वय समितिले जनाएको छ । सदरमुकामकै विद्यालयको हालत यस्तो खराब छ भने ग्रामीण क्षेत्रका विद्यालयको झन् कस्तो होला सजिलै अनुमान लगाउन सकिन्छ,’ पत्रकार दीपक बुढाले भन्नुभयो ।

गत असारमा नै जाजरकोटलाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने तयारी भए पनि निर्माण गरिएका शौचालय पानीको अभावमा प्रयोगविहीन हुँदा समस्या चुलिँदै गएको छ । रासस