काठमाडौं, १३ फागुन । नेपालका लागि भारतीय राजदूत रणजित राय (रञ्जित रे)लाई ‘अभिनन्दन’ लिन काठमाडौंमा भ्याईनभ्याई भएको छ । राजदूत रायलाई शनिबार संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले काठमाडौंको पाँच तारे होटेलमा ककटेल डिनर (रक्सी पार्टी) सहितको अभिनन्दन गर्दैछ ।
तराई मधेस लोकतान्त्रिक पार्टीका नेता सुरेश मण्डलले सहसचिवस्तरको कर्मचारीलाई मधेसी मोर्चाको ब्यानरमा कुनै पनि हालतमा अभिनन्दन र रक्सी पार्टी गर्नुहुँदैन भनेर सामाजिक सञ्जालमा आफ्नो अभिव्यक्ति दिइसकेका छन् । उनको अभिव्यक्तिपछि मधेसी मोर्चाभित्र खैलाबैला भएको छ ।
मधेसी मोर्चाको ब्यानरमा सहसचिवस्तरको कर्मचारीलाई अभिनन्दन गर्न लागेकोमा मधेसी मोर्चाका नेताहरू विभाजित भएका छन् । मोर्चाका केही शीर्ष र दोस्रो तहका नेताहरूले राजदूत रायलाई कुनै पनि हालतमा लाखौँ रुपियाँ खर्च गरेर रक्सीसहितको पार्टी राखेर अभिनन्दन गर्न नहुने धारणा राखेको उच्च स्रोतले जनाएको छ ।
रक्सीसहितको डिनर पार्टी एवम् अभिनन्दन कार्यक्रममा झण्डै दश लाख खर्च हुने अनुमान मधेसी मोर्चाको छ । यति ठूलो रकम कसरी जुट्छ भन्ने प्रश्नमा मधेसी मोर्चाका एक नेताले भने, ‘सबै पार्टीले आ–आफ्नो गच्छेअनुसार उठाउने भनिएको छ । हृदयश त्रिपाठीजीले पैसा खोज्नु हुन्छ ।’
तराई मधेस लोकतान्त्रिक पार्टीका नेता सुरेश मण्डलले सहसचिवस्तरको कर्मचारीलाई मधेसी मोर्चाको ब्यानरमा कुनै पनि हालतमा अभिनन्दन र रक्सी पार्टी गर्नुहुँदैन भनेर सामाजिक सञ्जालमा आफ्नो अभिव्यक्ति दिइसकेका छन् । उनको अभिव्यक्तिपछि मधेसी मोर्चाभित्र खैलाबैला भएको छ ।
स्रोतका अनुसार मधेसी मोर्चाको ब्यानरमा शनिबार बेलुका छ बजे काठमाडौंको लाजिम्पाटस्थित -याडिसन होटेलमा राजदूत रायलाई भव्य रुपमा अभिनन्दन तथा विदाइ कार्यक्रम गरिनेछ । राजदूत रायको अभिनन्दन कार्यक्रमलाई लिएर -याडिसन होटलमा शनिबार विशेष सुरक्षा बनाइने मोर्चाका एक नेताले जानकारी दिए ।
साढे तीन वर्षको आफ्नो कार्यकाल सकेका राजदूत रायले अनिवार्य अवकास पाउँदै छन् । उनी नेपालबाट फिर्ता हुन अगाडि ‘चाकडी’ गर्न विभिन्न दल, संस्था, व्यक्तिहरूले अभिनन्दन, सम्मान आदि कार्यक्रम गर्दै आएका छन् ।
राजदूत रायलाई तराई मधेस लोकतान्त्रिक पार्टीकी नेतृ चन्दा चौधरीले पनि विशेष रुपमा सम्मान गर्दैछिन् ।
अभिनन्दनका डिजाइनर को हुन् ?
अभिनन्दनको कार्यक्रमका लागि विशेष भूमिका तराई मधेस लोकतान्त्रिक पार्टीका सहअध्यक्ष हृदयश त्रिपाठीले गरिरहेका छन् । होटेल बुकदेखि खानपिनको मेनु रक्सी आइटम राख्ने, अतिथिसत्कार, पाहुना बोलाउनेलगायतका सबै कार्यको त्रिपाठी आफैले खटनपटन गरिरहेको स्रोत दाबी छ ।
अभिनन्दनमा क–कसलाई बोलाइएको छ ?
भारतीय राजदूत रायको अभिनन्दन तथा विदाइ विशेष कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रभावशाली सीमित मन्त्रीहरू, कांग्रेस सभापति शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी ओली, माधवकुमार नेपाल, झलनाथ खनाल, विमलेन्द्र निधि, रामचन्द्र पौडेल, बाबुराम भट्टराई, कमल थापा, पशुपति शम्शेर राणा, लोकेन्द्रबहादुर चन्द, कृष्णप्रसा सिटौला, बामदेव गौतमलगायत उच्च राजनीतिक नेतृत्वलाई बोलाइएको स्रोतको भनाइ छ ।
त्यसैगरी, ककटेल डिनरसहितको कार्यक्रममा उच्च सरकारी अधिकारी, पत्रकार, मधेसी मोर्चाका दोस्रो तहका नेताहरू, भारतीय दूतावासभित्रका अधिकांश कर्मचारी, व्यापारी आदिलाई बोलाइएको छ । कार्यक्रममा सर्वसाधारणका लागि भने प्रवेश निषेध रहेको छ ।
राजदूतको कार्यक्रममा उपेन्द्र, शरत् र अनिल गएनन्
भारतीय राजदूत रणजित रायको विदाइमा सद्भावना पार्टीले पनि विशेष कार्यक्रम गरिसकेको छ । काठमाडौंको दरबारमार्गस्थित एलो प्यागोडा होटेलमा बिहीबार विशेष कार्यक्रमसहित राजदूत रायलाई अभिनन्दन गरिएको हो ।
सद्भावना पार्टीका संस्थापक नेता गजेन्द्रनारायण सिंहको नाममा रहेको ‘गजेन्द्रनारायण सिंह लोककल्याणकारी प्रतिष्ठान’को नाममा अध्यक्ष राजेन्द्र महताले गरेका हुन् । महताले राजदूत रायलाई जनकपुरधामको जानकी मन्दिरको तस्बिर अंकित उपहार दिएका थिए ।
कार्यक्रममा महन्थ ठाकुर, राजकिशोर यादवलगायतका मधेसी मोर्चाका दोस्रो तहका नेताहरू मात्रै उपस्थित भए पनि उपेन्द्र यादव भने आएनन् । उपेन्द्रले आफू नगएर सहअध्यक्ष राजेन्द्र श्रेष्ठलाई कार्यक्रममा पठाएका थिए । शरत् सिंह भण्डारी र अनिल झाले पनि आफू नगएर कार्यक्रममा दोस्रो तहका नेताहरू पठाएका थिए ।

















प्रतिक्रिया